काठमाडौं – बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको नेपाल टेलिकमले जनाएको छ।
भदौ २२ गते आयोजित एक कार्यक्रममा नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन्।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति थियो।
नेपाल टेलिकमका कर्मचारीहरूले यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका छन्। यसपटक पनि विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलबबाट योगदान संकलन गरी विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिएको हो।
कर्मचारीहरूको यो सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा केही हदसम्म योगदान पुग्ने अपेक्षा गरिएको नेपाल टेलिकमले जनाएको छ।
यसैबीच, नेपाल टेलिकमले संस्थागत रूपमा कम्पनीको तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम केही दिनभित्र उपलब्ध गराउने जनाएको छ। विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम राख्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको टेलिकमले जनाएको छ।






About Us
प्रतिक्रिया