बाढी प्रभावित रसुवामा डिशहोम र वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट


काठमाडौं -भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि रसुवाका बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ।

डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा युटेलस्याट वनवेबसँगको सहकार्यमा प्रभावित क्षेत्रमा वैकल्पिक इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो। यो सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ।

बाढीका कारण सञ्चार सेवा प्रभावित भएपछि उद्धार, राहत तथा समन्वयमा सहजता ल्याउन सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूलाई प्राथमिकतामा राखेर स्याटेलाइट इन्टरनेट जडान गरिएको डिशहोमले जनाएको छ।

युटेलस्याट वनवेबको लो–अर्थ अर्बिट स्याटेलाइट प्रविधिमा आधारित उक्त सेवाले बाढीबाट क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको वैकल्पिक माध्यमका रूपमा काम गर्नेछ। यसबाट स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धारकर्मी तथा राहत कार्यमा संलग्न निकायबीच सूचना आदान–प्रदान र वास्तविक समयको समन्वयमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिशहोमका अनुसार सञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा पुनःस्थापना नभएसम्म प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता मूल्याङ्कन गरी उच्च प्राथमिकतामा रहेका थप स्थानमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गरिनेछ।

कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग समन्वय गर्दै सेवा विस्तारको प्राथमिकता निर्धारण गर्ने जनाएको छ। विपद्का समयमा वैकल्पिक सञ्चार पूर्वाधारमार्फत उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले यो पहल अघि बढाइएको डिशहोमको भनाइ छ।