प्रविधिलाई जोडेर बजारलाई अझ प्रभावकारी बनाउने तयारीमा छौँ: नायब कार्यकारी निर्देशक शर्मा


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नायब कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले सीमित स्रोत–साधनका बाबजुद पुँजी बजारलाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ काम भइरहेको बताएका छन्।

बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा बोल्दै शर्माले छिमेकी मुलुक भारत र चीनको तुलनामा प्रविधिको क्षेत्रमा नेपाल पनि सँगै रहेको उल्लेख गरे।

‘सेबोनले ऐनमा पनि प्रविधिमैत्री व्यवस्था ल्याउने र आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउने दिशामा काम गरिरहेको छ। यसका लागि सेबीको नीति निर्देशन पनि अध्ययन गरेका छौँ,’ शर्माले भने।

‘नयाँ नेतृत्वसँगै सेबोन र बजारलाई प्रविधिमैत्री बनाउने लक्ष्यमा छौँ,’उनले भने, ‘हामीसँग सीमित स्रोत र साधन भएकाले समस्या देखिएका छन्। अब स्रोत र प्रविधिलाई जोड्ने तयारीमा छौँ।’ उनका अनुसार पुँजी बजारमा प्रविधिको प्रयोग विस्तार गर्दै सेवा तथा प्रणालीलाई थप सहज, आधुनिक र प्रभावकारी बनाउने दिशामा सेबोनले काम अघि बढाइरहेको छ।