नीतिगत घोषणा र कार्यान्वयनमा अविश्वास हुँदा लगानीकर्ताको मनोबल बढ्न सकेन: मनोज पौडेल


काठमाडौं – अध्यन्ता फन्ड म्यानेजमेन्टका संस्थापक मनोज पौडेलले सरकार र नियामक निकायले नीतिगत घोषणा गरे पनि व्यवहारमा विश्वासको वातावरण बन्न नसक्दा पुँजीबजारका लगानीकर्ताको मनोबल बढ्न नसकेको बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार: सचेतना र साक्षरताको भूमिका’ मा बोल्दै पौडेलले बजेट र मौद्रिक नीतिको कार्यान्वयन तथा निर्णय प्रक्रियामा ढिलासुस्ती भएकोमा चिन्ता व्यक्त गरे।

‘मौद्रिक नीति हरेक वर्ष आइरहेको छ। बजेटमा पनि हरेक वर्ष पुँजीबजार सुधारका कार्यक्रमहरू समेटिएकै हुन्छन्,’ कार्यक्रममा पौडेलले भने, ‘तर राज्य तथा नियामकले बोलेका र घोषणा गरेका कुरामा विश्वास को वातावरण बन्न नसक्दा पुँजीबजारमा लगानीकर्ताको मनोबल उकासिन सकेको छैन।’

अन्य देशहरूको तुलनामा नेपालको प्रशासनिक र स्वीकृति प्रक्रिया असाध्यै झन्झटिलो र सुस्त रहेको टिप्पणी गर्दै उनले भने, ‘अन्य देशमा स्वचालित रूपमा हुने स्वीकृतिको प्रक्रिया नेपालमा ३ देखि ४ महिनासम्म लाग्ने समस्या छ। बजारमा ‘टाइम इज मनी’ (समय नै पैसा हो) भन्ने सिद्धान्त लागू हुन्छ, तर यहाँ सोचेको काम वा निर्णय दुई/तीन वर्ष धकेलिएपछि स्वाभाविक रूपमा ठूलो समस्या आउँछ।’ पुँजी बजारको विकास र लगानीकर्ताको विश्वास जित्नका लागि ढिलासुस्ती अन्त्य गर्दै निर्णय प्रक्रियालाई छिटो-छरितो र प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए।