पुँजी बजारसम्बन्धी वित्तीय साक्षरता ग्रामीण तहसम्म पुर्‍याउनुपर्छ : तुलसीराम ढकाल


काठमाडौं- नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकालले पुँजी बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रमलाई ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार : सचेतना र साक्षरताको भूमिका’ मा बोल्दै ढकालले विगतमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम भए पनि ती कार्यक्रमको प्रभावकारी मूल्यांकन हुन नसकेको बताए।

शहरी क्षेत्रमा, विशेषगरी तारे होटलमा हुने कार्यक्रमले मात्रै ग्रामीण क्षेत्रका लगानीकर्तालाई समेट्न नसक्ने भन्दै उनले ७५३ वटै स्थानीय तहबाट लगानीकर्ता शिक्षा तथा तालिम सञ्चालन गर्नुपर्ने बताए।

जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयलाई १० प्रतिशत शेयर दिने व्यवस्थाका कारण ग्रामीण क्षेत्रमा पनि ठूलो संख्यामा लगानीकर्ता रहेको उल्लेख गर्दै ढकालले स्थानीय तथा सामुदायिक रेडियोमार्फत समेत पुँजी बजारसम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिए। उनले स्मार्टफोन बोक्दैमा लगानीकर्ता सचेत नहुने भन्दै वित्तीय विवरण तथा ब्यालेन्ससिट बुझ्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए।’स्मार्टफोन बोक्दैमा लगानीकर्ता सचेत हुन्छन् भन्ने हुँदैन, ब्यालेन्ससिट बुझ्न सक्ने हुनुपर्छ,’ ढकालले भने।