८० लाख डिम्याट खातामध्ये १७ लाख मात्रै सक्रिय छन् : कार्यकारी निर्देशक केसी


काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक रुपेश केसीले नेपालमा ८० लाख डिम्याट खाता रहे पनि तीमध्ये करिब १७ लाख खाता मात्रै सक्रिय रहेको बताएका छन्। नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार : सचेतना र साक्षरताको भूमिका’ मा बोल्दै केसीले ८० लाख डिम्याट खातामध्ये ३३ लाख खातामा शून्य ब्यालेन्स रहेको जानकारी दिए।

कार्यकारी निर्देशक केसीले नेपालमा ८० लाख डिम्याट खातामध्ये ३३ लाख खातामा शून्य ब्यालेन्स रहेको र सक्रिय प्रयोगकर्ता करिब १७ लाख मात्रै रहेको जानकारी दिए। लगानीकर्ताको वित्तीय अवस्था र साक्षरताका आधारमा यो तथ्यांक परिवर्तन भइरहने उनको भनाइ छ।

धितोपत्र बजारका तीन प्रमुख आधारमध्ये लगानीकर्ता संरक्षण महत्वपूर्ण रहेको उल्लेख गर्दै केसीले निष्क्रिय रहेका लगानीकर्तालाई सक्रिय बनाउन आवश्यक सुधार गर्नुपर्ने बताए। लगानीकर्ताको अवस्था र वित्तीय साक्षरताबारे अध्ययन गर्न सेबोनले सर्वेक्षण तथा प्रश्नावलीमार्फत अनुसन्धान गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। राष्ट्रियस्तरमै वित्तीय साक्षरता रणनीति आवश्यक रहेको भन्दै बोर्डले साक्षरताका लागि आवश्यक फ्रेमवर्क तयार गरिसकेको उनले बताए।

केसीले ग्राहक संरक्षण कोषमा हाल १ अर्ब २३ करोड रुपैयाँ संकलन भएको जानकारी दिए। पाँच वर्षसम्म लाभांश लिन नआएका लगानीकर्ताको रकम उक्त कोषमा जम्मा हुने व्यवस्था रहेको बताउँदै उनले कोषलाई सेबोनमार्फत सञ्चालन गर्दा थप प्रभावकारी हुने धारणा राखे।