काठमाडौं – सेक्यूरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी)का कार्यकारी निर्देशक गोबिन्दायापाली राम मोहन रावले नेपालको पुँजी बजार नयाँ चरण अर्थात् ‘पुँजी बजार २.०’ मा प्रवेश गर्दै गरेको देखिएको बताएका छन्।
बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ लाई सम्बोधन गर्दै कार्यकारी निर्देशक रावले आगामी १० वर्षका लागि नेपालको पुँजी बजार सुधारको स्पष्ट दृष्टिकोण र योजना आवश्यक रहेको बताए। कार्यक्रममा सहभागी सरोकारवालाको प्रतिबद्धता र उत्साहले नेपालको पुँजी बजार विकासको नयाँ चरण सुरु हुन लागेको संकेत गरेको उनको भनाइ छ।
उनले आगामी २० देखि ३० वर्षमा नेपालको पुँजी बजारलाई ठूलो र बलियो बनाउन बजारसँग प्रत्यक्ष जोडिएका सबै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए। ब्रोकर, मार्केट मेकर, सूचीकृत कम्पनी, स्टक एक्सचेन्ज, क्लियरिङ कर्पोरेसन तथा नियामक निकाय सबैको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे।
रावले पुँजी बजारको विकासमा सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए। उनका अनुसार पुँजी बजार एक्लै अघि बढ्न नसक्ने भएकाले सरकारी नीति र प्राथमिकताले यसको भविष्य निर्धारण गर्छ।
विदेशी लगानी, विदेशी संस्थागत लगानीकर्ता तथा गैरआवासीय नेपालीलाई नेपालको पुँजी बजारमा आकर्षित गर्न सरकारले आवश्यक नीति तथा वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। यस्ता लगानीले मुलुकको आर्थिक विकासलाई गति दिन सक्ने उनको भनाइ छ।
रावले पुँजी बजारको दिगो विकासका लागि लगानीकर्ता, बजार मध्यस्थकर्ता र नियामक निकायबीच गहिरो विश्वास आवश्यक रहेको बताए। विश्वास भाषण र बैठकमा मात्र नभई व्यवहारमा समेत देखिनुपर्ने उनले उल्लेख गरे। उनले बजारका सबै सरोकारवालाले पुँजी बजारको विकासमा इमानदारीपूर्वक योगदान पुर्याउने संकल्प गरे आगामी १० वर्षका लागि तय गरिएका लक्ष्य पाँच वर्षमै हासिल गर्न सकिने विश्वास व्यक्त गरे।






About Us
प्रतिक्रिया