क्यापिटल मार्केट डिस्कोर्शको वक्ताका रुपमा प्रिय राज रेग्मी सहभागी हुने


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको वक्ताका रुपमा नेपाल उद्योग वाणिज्य महासंघको क्यापिटल मार्केट कमिटिका अध्यक्ष प्रिय राज रेग्मी सहभागी हुने भएका छन्। क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजका अध्यक्ष समेत रहेका रेग्मी कार्यक्रमको पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशन : द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ नामक सत्रमा वक्ताका रुपमा सहभागी हुने भएका हुन् ।

रेग्मी नेपालका वित्तीय सेवा, पुँजी बजार तथा निजी क्षेत्रका व्यवसायमा दीर्घ अनुभव हासिल गरेका उनी अनुभवी उद्यमी, पुँजी बजार विज्ञ तथा व्यवसायिक नेतृत्वकर्ता हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेका छन् । रेग्मी सन् २०२६ मा एफएनसीसीआईको एसोसियट क्याटेगोरीबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । त्यसपछि उनी नेपाल उद्योग वाणिज्य महासंघको क्यापिटल मार्केट कमिटिका अध्यक्ष बनेका हुन् । यस भूमिकामार्फत उनले नेपालको पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणसँग सम्बन्धित नीतिगत छलफल, निजी क्षेत्रका पहल तथा विभिन्न सरोकारका विषयमा सक्रिय योगदान पुर्‍याउँदै आएका छन् ।

रेग्मी नेपालको पुँजी बजार क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका छन् । आफ्नो कार्यकाल तथा त्यसपछिका व्यावसायिक संलग्नताका क्रममा उनले नेपालको धितोपत्र बजारको विकास, आधुनिकीकरण तथा सुदृढीकरणसँग सम्बन्धित विभिन्न छलफल, पहल तथा गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

उद्यमी तथा लगानीकर्ताका रूपमा रेग्मीको संलग्नता बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत्, होटल तथा पर्यटन, लगानी कम्पनी, स्वास्थ्य सेवा, उत्पादन तथा कृषि लगायतका विविध आर्थिक क्षेत्रमा रहेको छ। विभिन्न क्षेत्रको यस्तो विविध व्यवसायिक तथा लगानी अनुभवले उनको आर्थिक क्षेत्रसम्बन्धी समग्र बुझाइलाई थप सुदृढ बनाएको छ। साथै, व्यवसायिक अवसरको पहिचान, जोखिमको मूल्याङ्कन तथा दीर्घकालीन वृद्धि र सम्भावनाको विश्लेषण गर्ने उनको क्षमता अझ प्रभावकारी बनेको छ।

नेपालको पुँजी बजारबारे बृहत् छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा नेपाल क्यापिटल मार्केट डिस्कोर्श हुन लागेको छ। पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो।

क्यापिटल मार्केट डिस्कोर्श यही भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पहिलो सत्र ‘उत्पादन, नीति तथा नियमन: नेपालको पुँजी बजारको भविष्य’, दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार: सचेतना र साक्षरताको भूमिका’ तेस्रो सत्रमा ‘प्रविधि तथा नवप्रवर्तन: नेपालको पुँजी बजारको भविष्य’ नामक सत्र गत छलफल हुने छन्। 

यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्। डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरूको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।