काठमाडौं – गत भदौ १० गते बिहान तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीले नेपालका विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्यायो। बाढीबाट ठुलो धनजनको क्षतिसहित खर्बौँ रकमको क्षति देशले बेहोरिसकेको छ। सरकार, सुरक्षा निकाय र सर्वसाधारणहरू ज्यान जोगाउन र राहत बाँड्नतर्फ ध्यान दिइरहेको समयमा लुटपाट तथा चोरी गर्नेहरू सलबलाएका छन्।
विपद्का बेला जीवन जोगाउनु आफन्तको खोजी गर्नु, सबैभन्दा ठुलो चुनौती हुन्छ। तर, यही सङ्कटको घडीमा जहाँ पीडितको अवस्थालाई अवसर बनाएर अपराधीहरू सक्रिय भएका छन्। बाढी प्रभावित क्षेत्रमा चोरी, लुटपाट, बहुमूल्य सामान हिनामिना, राहतका नाममा ठगी तथा नक्कली क्युआर कोडमार्फत रकम असुल्ने गतिविधि देखिन थालेका छन्।
भोटेकोशीको बाढीले बगाएर ल्याएको एउटा शवसँग गरिएको व्यवहारले त्यो संवेदनशीलताको सीमा कति तल झर्न सक्छ भन्ने देखायो। बाढीले बगाएर ल्याएर नदीको किनारामा अड्किएको एक महिला शवबाट दुई व्यक्तिहरूले सुनको मुन्द्रा निकाले। विपतको समयमा शव पहिचानको चिनारीमा समेत सहयोग पुर्याउने सो मुन्द्रा चोरी गर्नेहरू प्रहरीको फन्दामा परे पनि यसले सङ्कटको समयमा अवसर लुट्नेहरू सलबलाएको देखाउँछ। पक्राउ पर्नेमा नवलपरासीका मदन गुरुङ र सुनसरीका उमेश चौधरी रहेका छन्। सामाजिक सञ्जालमा आएको भिडियोबाट प्रहरीले उनीहरू माथि अनुसन्धान गर्दै पक्राउ गरेको थियो।
लुटियो बाढीले बगाएको बैंकको ‘भल्ट’
यसैगरी, रसुवा बाढीले बगाएको बैंकको भल्ट धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारबाट लुटिएको थियो। बाढीले बगाएर ल्याएको भल्ट भेटेपछि २९ जना स्थानीयले आपसमा बाँडेर लिएको खुलेपछि प्रहरीले पक्राउ नै गरिसकेको छ। उनीहरूले आपसमा ९२ लाख ६८ हजार रुपैयाँभन्दा बढी लुटपाट गरेको भेटिएको थियो। यसैगरी, रसुवा बाढीले बगाएको बैंकको भल्ट धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारबाट लुटिएको थियो। बाढीले बगाएर ल्याएको भल्ट भेटेपछि २९ जना स्थानीयले आपसमा बाढेर लिएको खुलेपछि प्रहरीले पक्राउ नै गरिसकेको छ। उनीहरुले आपसमा ९२ लाख ६८ हजार रुपैयाँभन्दा बढी लुटपाट गरेको भेटिएको थियो।
विपद्को नाममा नक्कली क्युआर राखेर ठगी
विपदको समयमा सहयोगको नाममा क्यूआरमार्फत ठगी गर्नेहरु पनि सलबलाएका छन्। प्रहरीले रामेछापबाट एक जनालाई पक्राउ गरेपछि यसको रहस्य खुलेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी धन्दा गर्ने रामेछापका गोकुलगंगा– २, ठोसे बस्ने भगवान् कार्कीलाई प्रहरीले पक्राउ गर्यो। उनले १ लाख २० हजार रकम सहयोग गरेको भनी च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेर आफ्नो क्युआर कोड समेत सामाजिक सञ्जालहरूमा पोस्ट गरेका थिए।
उनले सो नक्कली स्टेटमेन्टसँगै आफ्नो व्यक्तिगत क्युआर कोड समेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै ठगी धन्दा चलाइरहेको प्रहरीले जनाएको छ। मानिसहरूले राहत कोषमा पैसा पठाएको ठानेर उनको व्यक्तिगत खातामा पैसा पठाउने जोखिम बढेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
यसले सङ्कटको समयमा आपराधिक मानसिकता बोकेका व्यक्तिहरू ठगीमा सक्रिय भएको देखिन्छ। विपद्का कारण सुरक्षा निगरानी कमजोर भएको मौका छोपेर चोरी, लुटपाट र ठगीका घटना बढ्न थालेका छन्। बाढीका कारण प्रभावित क्षेत्रका पसल, घर तथा व्यावसायिक प्रतिष्ठानमा मानिसको आवतजावत कम हुन्छ। कतिपय स्थानमा सुरक्षा व्यवस्था प्रभावित भएको मौका अपराधीहरूले उठाइरहेका छन्। विभिन्न स्थानबाट सुन लुटिएको, ग्यास सिलिन्डर चोरी भएको तथा भल्टसमेत फुटाएर रकम तथा बहुमूल्य सामान बढेका थिए।

यस्तै, विपद्का बेला सर्वसाधारणलाई लक्षित गर्दै नक्कली क्युआर कोडमार्फत ठगी गर्ने गतिविधिसमेत बढेको प्रहरीले बताएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट, विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्याम लगायतका आपराधिक गतिविधि रोकथाम र संलग्नलाई कानुनी दायरमा ल्याउन प्रहरी सक्रिय रहेको बताउँछन्।
प्रहरीका केन्द्रीय प्रवक्ताका अनुसार, प्रहरीले बाढी प्रभावित क्षेत्रहरूमा उद्धार एवम् खोजका लागि स्थानीय तह एवम् अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको छ। प्रहरीका अनुसार बाढीपछि चोरी तथा लुटपाटमा संलग्न ३२ जना पक्राउ परिसकेका छन्।






About Us
प्रतिक्रिया