शेयर बजारमा ‘एंकर लगानीकर्ता’को व्यवस्था गर्दै सेबोन, साना लगानीकर्तालाई कसरी पुग्छ फाइदा ?


काठमाडौं – नेपालमा सर्वसाधारणका लागि जारी गरिने शेयर निष्कासन प्रक्रियालाई थप पारदर्शी, सुरक्षित र भरपर्दो बनाउन सरकार तथा धितोपत्र बोर्डले नयाँ नीतिगत सुधारको तयारी गरेका छन्। भर्खरै ल्याइएको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्रअनुसार अब नयाँ कम्पनीहरूले शेयर जारी गर्दा, विशेष गरी लिलाम बढाबढ विधिबाट मूल्य तय गरिने प्रक्रियामा प्रारम्भिक संस्थागत लगानीकर्ता अर्थात एंकर लगानीकर्तासम्बन्धी स्पष्ट नियम लागू गर्ने प्रस्ताव गरिएको छ।

कुनै पनि कम्पनीले आम सर्वसाधारणका लागि शेयर खुला गर्नुअघि नै निश्चित मात्रामा शेयर किन्ने प्रतिबद्धता जनाउने ठूला, अनुभवी र नियमनकारी निकायबाट मान्यता प्राप्त संस्थाहरूलाई नै प्रारम्भिक संस्थागत लगानीकर्ता भनिन्छ। संसारका धेरै विकसित र उदीयमान शेयर बजारहरूमा यो व्यवस्था सफल मानिन्छ। जब राम्रा र प्रतिष्ठित संस्थाहरूले कम्पनीको शेयरमा पहिले नै लगानी गर्छन्, त्यसले सो कम्पनीको साख बढाउँछ र साना लगानीकर्तामा पनि विश्वास जगाउने अपेक्षा सेबोनको छ।

सबै संघसंस्था यस्ता लगानीकर्ता बन्न पाउँदैनन्। यसका लागि विशेष ऐनबाट बनेका सरकारी निकाय, सामूहिक लगानी कोष, बीमा कम्पनी, नागरिक लगानी कोष, पेन्सन तथा अवकाश कोष र धितोपत्र बोर्डबाट अनुमति पाएका ठूला कोष व्यवस्थापक संस्थाहरू मात्र योग्य हुनेछन्। भविष्यमा बजारको विकाससँगै विदेशी संस्थागत लगानीकर्ताहरूलाई पनि यसमा समावेश गर्न सकिने योजना छ। सेबोनले चाँडै नै यस सम्बन्धी स्पष्ट एंकर लगानीकर्ता निर्देशिका ल्याउनेछ। यसमा लगानीकर्ताको योग्यता, शेयर बाँडफाँटको तरिका र रोक्का अवधिको स्पष्ट नियम बनाइनेछ।

यो व्यवस्था लागू भएपछि सर्वसाधारण लगानीकर्ता र समग्र शेयर बजारलाई धेरै लाभ पुग्ने अपेक्षा गरिएको छ। लिलाम बढाबढ विधिबाट शेयरको मूल्य तोक्दा सही र वास्तविक मूल्य पत्ता लगाउन सहज हुनेछ। ठूला विज्ञ संस्थाहरूले अध्ययन गरेर लगानी गरेको देखेपछि कम्पनीको गुणस्तर थाहा नपाई लगानी गर्ने साना लगानीकर्तालाई पनि जोखिम कम हुनेछ र बजारप्रतिको भरोसा बढ्ने सेबोनले जनाएको छ।

यसका साथै, यस्ता ठूला लगानीकर्ताले किनेको शेययर बजारमा सूचीकृत हुने बित्तिकै तुरुन्तै बेचेर निस्कन पाइँदैन। उनीहरूका लागि निश्चित समयसम्म शेयर रोक्का रहने लक इन अवधि नियम लागू हुनेछ। यसले गर्दा शेयर सूचीकृत भएलगत्तै बजारमा शेयरकाे भाउ एकाएक घटबढ हुने वा अत्यधिक उतारचढाव आउने जोखिम हट्नेछ। कुन संस्थाले कति शेयर कति मूल्यमा किन्यो र उनीहरूको शेयर कति समय रोक्का रहनेछ भन्ने सबै विवरण पारदर्शिताका लागि सार्वजनिक गरिनेछ।

धितोपत्र बोर्डले चाँडै नै यस सम्बन्धी स्पष्ट निर्देशिका जारी गरेर योग्यता, शेयर बाँडफाँटको तरिका र रोक्का अवधिको नियम बनाउनेछ। कम्पनीको वित्तीय अवस्था नबुझी लगानी गर्ने साना लगानीकर्ताका लागि यो व्यवस्थाले संरक्षण गर्ने र नेपाली शेयर बजारलाई थप परिपक्व र अन्तर्राष्ट्रियस्तरको बनाउन सहयोग पुर्‍याउने उल्लेख छ।

को-को बन्न पाउँछन् एंकर लगानीकर्ता?

जसले पायो त्यसले एंकर लगानीकर्ता बन्न पाउँदैनन् । यसका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएका र बलियो आर्थिक स्थिति भएका संस्थाहरू मात्र योग्य हुनेछन् । जस्तै:

  • म्युचुअल फन्ड (सामूहिक लगानी कोष)
  • बीमा कम्पनीहरू (जीवन तथा निर्जीवन)
  • नागरिक लगानी कोष र पेन्सन/अवकाश कोषहरू
  • सरकारी विशेष निकाय र मान्यता प्राप्त एसेट म्यानेजमेन्ट कम्पनीहरू

भविष्यमा बजार परिपक्व हुँदै गएपछि विदेशी ठूला लगानी कोषहरूलाई पनि यसमा भित्र्याउन सकिने श्वेतपत्रमा उल्लेख छ।