पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट


झापा -पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२–८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२–८३ मा तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१–८२ मा चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरको १५ हजार ३ सय ११ मेट्रिक टन चिया निर्यात भएको थियो।

परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट ६३ करोड ९६ लाख ८९ हजार रुपैयाँको गिरावट आएको छ। प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो स्थानमा पर्ने गरेको छ।

नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय बजारमा आउने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध र अन्तरराष्ट्रिय बजारको मागअनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको उनले बताए।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजारमा पुग्ने गर्दछ। निर्यातमा आएको यो गिरावटले चिया उत्पादक किसान, उद्योगी र समग्र वैदेशिक व्यापार घाटामा असर पार्ने देखिन्छ।