अवैध कल बाईपासमा संलग्न चार जना पक्राउ 


काठमाडौं – काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट अवैध भीओआईपी सञ्चालनमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । उनीहरूको साथबाट भीओआईपी सञ्चालनमा प्रयोग हुने सिम बक्स, ल्यापटप, राउटर, सिमकार्ड, मोबाइल फोन लगायतका उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा गोरखाका प्रोशेस गुरुङ्ग, काठमाडौंका मुना श्रेष्ठ, कञ्चनपुरका जेनित झुकाल र भक्तपुरका कृष्ण नगरकोटी रहेका छन् । 

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) बाट खटिएको प्रहरीले नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा बरामद उपकरण तथा सामग्रीहरू बेटिङ एप एनपीआर ७७ क्यासिनो, आईएमई ८८ र खल्ती ८८ मा समेत प्रयोग भइरहेको खुलेको छ ।

सीआईबीका अनुसार, गुरुङको साथबाट १६ पोर्टको सिम बक्स (भीओआईपी) डिभाइस १ थान, ल्यापटप १ थान, २२ थान सिमकार्ड, वाइफाइ राउटर १ थान र मोबाइल फोन १ थान बरामद भएको प्रहरीले जनाएको छ। मुना श्रेष्ठबाट १६ पोर्टको सिम बक्स (भीओआईपी) डिभाइस १ थान, ल्यापटप १ थान, राउटर १ थान, २० थान सिमकार्ड तथा २ थान मोबाइल फोन बरामद गरिएको छ।

यस्तै, जेनित झुकालको साथबाट ११२ पोर्टका ५ थान सिम बक्स (भीओआईपी) डिभाइस, ८ थान ब्याट्री, १ थान इन्भर्टर, १५३ थान एनसेल सिमकार्ड र २ थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ। कृष्ण नगरकोटीलाई आफ्नै घरमा भीओआईपी सञ्चालनको तयारी गरिरहेको अवस्थामा ८ थान ब्याट्री, १ थान युपीएस, १ थान इन्टरनेट हब, १ थान ल्यापटप र १ थान राउटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि  दुरसञ्चार ऐन, २०५३ को दफा ४७९५० अन्तर्गत कसुरमा प्रोशेस गुरुङ र मुना श्रेष्ठमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन र  झुकाल र  नगरकोटीमाथि जिल्ला अदालत भक्तपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।