काठमाडौं – मधेश प्रदेशमा विकसित पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपीसम्मका १५ जना वरिष्ठ प्रहरी अधिकृतलाई विभिन्न प्रदेश तथा जिल्लामा खटाएको छ।
प्रहरी प्रवक्ता अबि नारायण काफ्लेका अनुसार, हालको सुरक्षा परिस्थितिको प्रभावकारी व्यवस्थापनका लागि जनशक्ति तथा स्रोत–साधन परिचालनको मूल्यांकन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण, तथा आवश्यकताअनुसार फिल्डमै खटिएर समन्वय गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको हो।
खटिएका अधिकृतहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, स्थानीयस्तरका समस्या तथा गुनासो सुन्ने, परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिने तथा समयमै सामान्य अवस्थामा फर्काउने प्रयास गर्ने उनले बताए।
खटाइएका अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धी विक्रम शाह (बाँके), हिमालयकुमार श्रेष्ठ (मधेश प्रदेश), उमाप्रसाद चतुर्वेदी (कपिलवस्तु) र ईश्वर कार्की (कोशी प्रदेश तथा सुनसरी) रहेका छन्।
त्यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी)दिनेशकुमार आचार्यलाई सिराहा र अबि नारायण काफ्लेलाई सप्तरीको जिम्मेवारी दिइएको छ। साथै, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)गोपालचन्द्र भट्टराई (सर्लाही), सोमेन्द्र सिंह राठौर (पर्सा), दीप शम्शेर जबरा (रौतहट), नवराज अधिकारी (चितवन), कृष्णप्रसाद पंगेनी (महोत्तरी), होबिन्द्र बोगटी (बारा), ज्ञानेन्द्रप्रसाद फुयाँल (मोरङ), भुवनेश्वर तिवारी (धनुषा) तथा अमरेन्द्रबहादुर सिंह (मधेश प्रदेश) लाई जिम्मेवारी तोकिएको छ।







About Us
प्रतिक्रिया