काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट सुरु भएको तनावग्रस्त परिस्थितिमा राज्य पक्षबाट भएको बल प्रयोगप्रति गम्भीर आपत्ति जनाएका छन्। अध्यक्ष ओलीले घटनाका क्रममा सुनसरीका ओमप्रकाश मेहता तथा सिरहाका गणेश यादवको गोली लागेर मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा देवानगञ्जमा देखिएको तनाव रोक्न नसकिएको मात्र नभई सिरहासहित विभिन्न स्थानमा समेत हिंसा फैलिँदै थप नागरिकको ज्यान गएको खबरले आफू अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन्। उनले ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
वक्तव्यमा उनले नागरिकहरूलाई कुनै पनि प्रकारका भ्रामक प्रचारको पछि नलाग्न, संयमता अपनाउन र सामाजिक सद्भाव तथा एकता कायम राख्न आग्रह गरेका छन्। नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल भएको उल्लेख गर्दै समाजलाई विभाजित गर्ने षड्यन्त्रप्रति सचेत रहन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई अनुरोध गरेका छन्।
अध्यक्ष ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भर्त्सनायोग्य रहेको टिप्पणी गरेका छन्। उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादमार्फत समस्याको समाधान खोज्न सरकारसँग माग गरेका छन्।
साथै, मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। द्वन्द्व र हिंसाबाट समस्या समाधान नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्र वर्तमान संकटको निकास सम्भव हुने उनको भनाइ छ।
अध्यक्ष ओलीले राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भावमाथि चुनौती उत्पन्न भएको भन्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक अगुवाहरूलाई राष्ट्रिय हित, एकता र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्।







About Us
प्रतिक्रिया