शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध ५ लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) र सुरेश कँहारविरुद्ध ५ लाख घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस रकम लिएको भन्ने उजुरीपछि गरिएको अनुसन्धानका क्रममा उपाध्यक्ष चौधरीको बैंक खातामा ५ लाख रुपैयाँ जम्मा भएको पुष्टि भएको हो।

अनुसन्धानबाट आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत रहेको ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालनका लागि गाउँपालिकाबाट ६ लाख रुपैयाँ पेश्की निकासा गरिएको खुलेको छ। उक्त कार्यक्रम सञ्चालनको जिम्मेवारी सुरेश कँहारलाई दिइएको र गाउँपालिकासँग सम्झौताअनुसार कार्यक्रम सञ्चालन गर्नका लागि उनको खातामा ६ लाख रुपैयाँ जम्मा गरिएको आयोगले जनाएको छ।

तर, रकम खातामा आएलगत्तै त्यसमध्ये ५ लाख रुपैयाँ उपाध्यक्ष चौधरीको खातामा जम्मा गराइएको र कार्यक्रम सञ्चालनमा उल्लेख्य खर्च भएको नदेखिएको आयोगको दाबी छ। अनुसन्धानका क्रममा कँहारको खातामा उक्त पेश्कीबाहेक अन्य रकमको कारोबार पनि नदेखिएको अख्तियारले उल्लेख गरेको छ। आयोगका अनुसार कार्यक्रम सञ्चालनका लागि छुट्याइएको पेश्की रकमबाटै ५ लाख रुपैयाँ घुस स्वरूप मागिएको, लिइएको र दिइएको पुष्टि भएकाले उपाध्यक्ष चौधरी र कँहारले आपसी मिलेमतोमा भ्रष्टाचार गरेको ठहर गरिएको छ।

उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसुरअनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।