सुदूरपश्चिम रोयल्सको ‘ग्रीन मोबिलिटी पार्टनर’मा ‘स्काइवेल नेपाल’


काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो वातावरणीय प्रतिबद्धतालाई थप मजबुत बनाउँदै स्काइवेल नेपाललाई ‘ग्रीन मोबिलिटी पार्टनर’का रूपमा भित्र्याएको छ।

वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्दै आएको अग्रणी ब्रान्ड स्काइवेल नेपाल र सुदूरपश्चिम रोयल्सबीच यस सहकार्यले खेलकुद र दिगो विकासको नयाँ यात्रा सुरु गरेको छ। सम्झौता घोषणा गर्दै सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्काइवेल नेपाल जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। खेलकुद क्षेत्रमा व्यावसायिकता भित्र्याउँदै वातावरण संरक्षणको सन्देश रोयल्सको मूख्य उद्देश्य रहेको बताइएको छ।

त्यस्तै, स्काइवेल नेपालका तर्फबाट पनि खेलकुद क्षेत्रमार्फत दिगो भविष्य र हरित ऊर्जाको महत्त्व बुझाउन यो साझेदारी प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शनका साथै सामाजिक र वातावरणीय उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। खेलकुद र हरित प्रविधिको यो जोडजाडलाई समर्थकहरूले पनि निकै सकारात्मक रूपमा लिएका छन्।