काठमाडौं – प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका– २६ गोंगबु मित्रनगर बस्ने ५३ वर्षीय बिष्णु राईले आफ्नै घरमा संचालन गरेको खोटाङ गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ८ सय र १० बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ स्याउले बस्ने ४४ वर्षीय टेक बहादुर साउदको घरमा जुवातास खेलिरहेको अवस्थामा टेक बहादुर समेत १६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले नगद २७ हजार ५ सय भारतीय रूपैयाँ र ३२ हजार ७ सय ८० नेपाली रूपैयाँ सहित पक्राउ गरेको हो ।
साथै, चितवनको भरतपुर महानगरपालिका– १० स्याउली बजार बस्ने ५८ वर्षीय राकेश श्रेष्ठको घर पछाडी जुवातास खेलिरहेको अवस्थामा राकेश समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








About Us
प्रतिक्रिया