त्रिवि प्रश्नपत्र लिक प्रकरण: थप दुई जना सीआईबीको नियन्त्रणमा


काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा अगावै प्रश्नपत्र लिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्।

यसअघि साउन १० मा प्रहरीले ३३ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरेको थियो । आरोपीहरुले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय तर्फको एमबिएस प्रथम सेमेष्टरको प्रश्नपत्र लिक गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिंह कैलालीको घोडाघोडी नगरपालिका–११ घर भएर भक्तपुर बस्दै आएका थिए । 

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका व्यक्तिहरुलाई शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। यसअघि पनि उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरुलाई पक्राउ गरी सीआईबीले अनुसन्धान गरिरहेको छ।