वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहटका मुन्ना चौधरी,  मोरङका भुमिका देवान र बिनु श्रेष्ठ, भोजपुरका बिमला थापा र दैलेखका केशव बहादुर शाही रहेका छन् ।

पक्राउ मध्ये मुन्नाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६६ हजार रुपैयाँ, भुमिकाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ, बिमलाले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४८ हजार रुपैयाँ, केशवले जर्जिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८८ लाख ५० हजार रुपैयाँ र बिनुले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।