१० हजार घुससहित वडा सचिव अख्तियारको फन्दामा


काठमाडौं– झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्।

आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिएर १० हजार घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार साहलाई नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार साहलाई सेवाग्राहीबाट रु। १० हजार घुस लिइसकेको अवस्थामा गौरीगञ्ज गाउँपालिका–१ स्थित एक स्थानीय होटलबाट नगद रकमसहित नियन्त्रणमा लिइएको हो।

घटनापछि अख्तियारको टोलीले आवश्यक प्रमाण संकलन गरी थप अनुसन्धान अघि बढाएको छ। आयोगले सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।