नागढुंगा सुरुङमा २१ अर्बभन्दा बढी लगानी, टोल शुल्क बाट लागत उठाउने योजना छैन


काठमाडौं – नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणमा २१ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको भए पनि सरकारले टोल शुल्कबाट उक्त निर्माण लागत उठाउने योजना बनाएको छैन । सुरुङ मार्ग सञ्चालनमा आएपछि उठ्ने टोल शुल्क मुख्यतः सञ्चालन तथा मर्मत सम्भार खर्च धान्ने उद्देश्यले निर्धारण गरिएको आयोजनाले जनाएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका निर्देशक इन्जिनियर सौजन्य नेपालका अनुसार आयोजनाको पहिलो चरणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)बाट करिब १६ अर्ब रुपैयाँ र दोस्रो चरणमा थप ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण परिचालन भएको छ । यसरी आयोजनामा जाइकाबाट मात्रै करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण परिचालन भएको हो । उनका अनुसार आयोजना निर्माणमा प्रयोग भएको ऋण जाइकाबाटै आएको हो ।

तर, आयोजनाले जाइकाबाट लिएको ऋण भने सरकारले लामो अवधिमा तिर्नुपर्नेछ । निर्देशक नेपालका अनुसार उक्त ऋण २० वर्षमा तिर्ने व्यवस्था गरिएको छ ।

टोलबाट निर्माण खर्च उठाउने होइन

सुरुङ मार्ग निर्माणमा २१ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च भएको अवस्थामा उक्त रकम कहिलेसम्म टोल शुल्कबाट उठिसक्छ भन्ने प्रश्नमा आयोजना निर्देशक नेपालले टोल शुल्कको उद्देश्य नै निर्माण लागत असुल गर्नु नभएको बताए । उनका अनुसार सुरुङ मार्ग सञ्चालनमा आएपछि उठ्ने टोल शुल्कबाट मुख्यतः सञ्चालन र मर्मत सम्भार खर्च व्यवस्थापन गर्ने योजना छ। त्यसैले निर्माणमा लागेको सम्पूर्ण लागतलाई टोलबाट उठाउने हिसाबले शुल्क निर्धारण नगरिएको उनको भनाइ छ ।

‘लगानी गरेको निर्माण लागत नै उठाउने उद्देश्य होइन। अपरेसन र मेन्टेनेन्सको खर्च टोलबाट उठाउने हो,’ उनले भने । सुरुङ मार्ग प्रयोग गर्ने सवारीको संख्या र त्यसबाट उठ्न सक्ने रकमको मोटामोटी आकलन भने आयोजनाले गरेको छ। नागढुंगा सडक खण्डमा अहिले चलिरहेका सवारीमध्ये केही हिस्सा सुरुङ मार्गतर्फ डाइभर्ट भएमा वार्षिक करिब ३० देखि ३५ करोड रुपैयाँ टोल शुल्क उठ्न सक्ने प्रारम्भिक अनुमान रहेको निर्देशक नेपालले बताए ।

नागढुंगाको जाम घटाउने मुख्य लक्ष्य

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा आएपछि अहिले नागढुंगा क्षेत्रमा हुने लामो जाम कम हुने अपेक्षा गरिएको छ । विशेषगरी काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारीलाई अहिलेको घुमाउरो तथा उकालो सडकको विकल्पका रूपमा सुरुङ मार्ग उपलब्ध हुनेछ। आयोजनाका अनुसार हालको सडकमा हुने जामका कारण सवारीसाधनले लामो समयसम्म इन्जिन चलाइराख्नुपर्ने अवस्था छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि त्यस्तो समय घट्नेछ ।

आयोजना निर्देशक नेपालका अनुसार सुरुङमार्गबाट केही प्रतिशत मात्रै सवारी डाइभर्ट भए पनि नागढुंगा सडकमा हुने जाममा उल्लेख्य कमी आउनेछ । यसको फाइदा यात्रुको समय बचतमा मात्रै सीमित हुने छैन। जाममा लामो समयसम्म सवारी रोकिँदा हुने इन्धन खपत, टायर घिसावट, सवारी मर्मत सम्भार खर्च र यात्रुको समयको क्षति समेत घट्ने आयोजनाको आकलन छ ।

टोल शुल्क नै प्रत्यक्ष बचत जत्तिकै हुने दाबी

सुरुङ मार्ग प्रयोग गर्दा पेट्रोल तथा डिजेल कति बचत हुन्छ भन्ने प्रश्नमा निर्देशक नेपालले छुट्टै रकम तोकेर भन्दा टोल शुल्कसँग तुलना गरेर बुझ्न सकिने बताए । उनका अनुसार सुरुङ मार्ग प्रयोग गर्दा सवारीले अहिलेको सडकको उकालो, घुम्ती र जाममा खर्च गर्नुपर्ने इन्धन तथा समय बचत गर्छ । त्यसैले यात्रुले सुरुङ मार्ग प्रयोग गर्दा तिर्ने टोल शुल्कको रकमकै हाराहारीमा प्रत्यक्ष बचत हुने गरी शुल्क निर्धारण गरिएको उनको भनाइ छ ।

‘जति टोल रेट छ, त्यति नै प्रत्यक्ष बचत हुन्छ,’ उनले भने । त्यसमा इन्धन बचतबाहेक समय बचत, सवारीको मर्मत सम्भार खर्च र टायरको घिसावट कम हुने जस्ता थप आर्थिक लाभसमेत जोडिने आयोजनाको भनाइ छ । आयोजनाले टोल शुल्क मनलाग्दी निर्धारण नगरेको पनि निर्देशक नेपालले बताए । उनका अनुसार सवारीको मर्मत सम्भार, इन्धन, समय बचतलगायतका पक्षलाई आधार बनाएर वैज्ञानिक हिसाबले टोल शुल्क निर्धारण गरिएको हो ।

नागढुंगा क्षेत्रमा अहिले लामो समयसम्म सवारी जाममा बस्नुपर्ने अवस्था छ । विशेषगरी उकालो सडकमा सवारीले कम गतिमा चल्नुपर्ने वा रोकिनुपर्ने भएकाले इन्धन खपत बढ्छ । सुरुङमार्गबाट सवारी सहज रूपमा आवतजावत गर्न थालेपछि यस्तो अनावश्यक इन्धन खपत कम हुने आयोजनाको दाबी छ । सवारीसाधनले उकालोमा लामो समयसम्म इन्जिन चलाइराख्नुपर्ने अवस्थाको अन्त्य हुँदा इन्धनसँगै सवारीको सञ्चालन खर्च पनि घट्नेछ । त्यसैगरी, जाममा बित्ने समय घटेपछि यात्रु तथा मालवाहक सवारीले गन्तव्यमा छिटो पुग्न सक्नेछन् । यसले प्रत्यक्ष रूपमा यात्रुको समय बचत गर्नुका साथै ढुवानी लागत घटाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जाइकाको ऋण २० वर्षमा तिर्ने

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणमा परिचालन भएको जाइकाको ऋण भने सरकारले २० वर्षमा तिर्नेछ। आयोजनाका निर्देशक नेपालका अनुसार पहिलो चरणमा करिब १६ अर्ब रुपैयाँ र दोस्रो चरणमा ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण परिचालन भएको छ । यसरी आयोजनाको निर्माण तथा सम्बन्धित काममा जाइकाबाट मात्रै करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण परिचालन भएको देखिन्छ। आयोजनाले नेपालका बैंकबाट थप ऋण भने प्रयोग नगरेको जनाएको छ ।

निर्माण लागत असुल गर्नकै लागि महँगो टोल शुल्क लगाउनेभन्दा सुरुङ मार्ग सञ्चालन र मर्मत सम्भारलाई दिगो बनाउने गरी टोल शुल्क निर्धारण गरिएको आयोजनाको भनाइ छ ।

आयोजना अब निर्माणपछि सञ्चालनको तयारीतर्फ अघि बढेको छ । सुरुङ मार्ग उद्घाटन तथा सञ्चालनसम्बन्धी कार्यक्रमका लागि सञ्चारमाध्यमका प्रतिनिधिलाई सिंहदरबारबाट बसमार्फत लैजाने तयारीसमेत भइरहेको आयोजनाले जनाएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाकामध्ये एक नागढुंगामा रहेको वर्षौँदेखिको जाम र कठिन यात्राको समस्या कम हुने अपेक्षा गरिएको छ। तर, आयोजनामा भएको ठुलो ऋण लगानीको प्रत्यक्ष आर्थिक प्रतिफलभन्दा यात्राको समय, इन्धन, सवारी मर्मत सम्भार तथा ढुवानी लागत घटाउनु नै यसको मुख्य आर्थिक लाभ हुने आयोजनाको भनाइ छ । यसकारण सुरुङमार्गबाट सरकारले निर्माण लागत टोल उठाएर असुल गर्नेभन्दा २० वर्षको ऋण तिर्दै सञ्चालन तथा मर्मत सम्भार खर्च धान्ने र सडकमा हुने जामका कारण भइरहेको ठुलो अप्रत्यक्ष आर्थिक क्षति घटाउने लक्ष्य लिएको देखिन्छ ।