आज उद्घाटन हुने नागढुंगा सुरुङमार्ग : जान्नैपर्ने पाँच तथ्यहरू


काठमाडौं – लामो पर्खाइपछि काठमाडौँ उपत्यकालाई देशका अन्य भूभागसँग जोड्ने मुख्य नाकामा निर्मित नागढुंगा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा वर्षौँदेखि भोगिँदै आएको ट्राफिक जाम र सास्तीलाई कम गर्ने लक्ष्यका साथ निर्माण गरिएको हो । यस आयोजनाबारे सर्वसाधारण तथा सरोकारवालाले जान्नैपर्ने पाँच तथ्यहरू यस प्रकार छन् :

वैदेशिक लगानी र ऋण चुक्ताको समयसीमा

यस सुरुङमार्ग निर्माणमा स्वदेशी बैंकहरूको कर्जा प्रयोग नगरि सम्पूर्ण वैदेशिक वित्तीय व्यवस्थापन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा गरिएको हो। जाइकाले पहिलो चरणमा १६ अर्ब रूपैयाँ र दोस्रो चरणमा ५.५ अर्ब रूपैयाँ गरी कुल २१.५ अर्ब रूपैयाँ ऋण उपलब्ध गराएको छ । यो सरकारले २० वर्षभित्र चुक्ता गरिसक्नुपर्नेछ ।

सडक महसुल निर्माण लागत उठाउन होइन

सुरुङमार्ग प्रयोग गरेबापत उठाइने टोल (सडक महसुल) आयोजनाको कुल निर्माण लागत असुल गर्नका लागि नभई सुरुङमार्गको दैनिक सञ्चालन, सुरक्षा व्यवस्थापन र नियमित मर्मतसम्भारको खर्च जुटाउन मात्र तोकिएको हो ।

कति सवारीसाधन प्रयोगकर्ता र वार्षिक आम्दानी ?

हाल नागढुङ्गा भएर आउजाउ गर्ने कुल सवारीसाधनमध्ये पहिलो चरणमा कम्तीमा ३० प्रतिशत सवारीसाधन सुरुङमार्गमा ुडाइभर्टु हुने अनुमान गरिएको छ । यसबाट वार्षिक ३० देखि ३५ करोड रूपैयाँसम्म सडक महसुल संकलन हुने आयोजनाको प्रारम्भिक आकलन छ ।

सवारी साधन अनुसारको टोल शुल्क र छुट पाउने साधन

सुरुङमार्ग प्रयोग गर्दा काठमाडौँ भित्रिँदा र बाहिरिँदा फरक–फरक महसुल दर तोकिएको छ । साना सवारी ९कार, जिप, भ्यान० ले भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ , मझौला सवारीले भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ , ठूला सवारीले भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तथा हेभी इक्युपमेन्टले भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ भने मोटरसाइकल, स्कुटर, इन्धन बोक्ने ट्याङ्कर र पैदलयात्रीलाई सुरुङमार्ग प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

३० प्रतिशत जाम घट्ने र यात्रा सहज हुने

कम्तीमा ३० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्दा नागढुङ्गाको उकालो(ओरालोमा हुने पुरानो सडकको सवारी जाम पनि सोही अनुपातमा घट्नेछ, जसले गर्दा सुरुङमार्ग प्रयोग गर्ने र पुरानै सडकबाट यात्रा गर्ने दुवैथरी चालक तथा यात्रुको समयको ठूलो बचत हुनेछ ।