एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र लिक गर्ने संदिप सिंह पक्राउ 


काठमाडौं – एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र लिक गर्ने एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी घर भई हाल भक्तपुरको मध्यपुर थिमी बस्ने संदिप सिंह रहेका छन् ।

उनले विभिन्न व्हाट्सएप समूहहरुमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय तर्फको एमबीएस प्रथम सेमेष्टरको एमजीटी ५१५– अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्न पत्र लिक गरेका थिए ।  शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा उनलाई मध्यपुर थिमीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । 

साथै, एमबीएस प्रथम सेमेष्टरको अन्य विषयका परीक्षा बाँकी नै रहेको हुँदा उक्त परीक्षामा समेत गैर कानुनी क्रियाकलापहरू हुन गर्न सक्ने हुँदा यस किसिमका गैर कानुनी कार्यमा संलग्न नहुन र यदि संलग्न भए गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने सीआईबीले बताएको छ ।