स्वदेशी उत्पादनमा केन्द्रित भएर कमोडिटी मार्केट खुलाउने तयारीमा सेबोन


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल प्रसाद भट्टले विदेशी उत्पादन मात्र नभएर स्वदेशी उत्पादनको कारोबार हुने गरी कमोडिटी एक्सचेन्ज मार्केट स्थापनाको तयारी भइरहेको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का प्रतिनिधिसँगको कुराकानीमा भट्टले विदेशी वस्तुको कारोबार मात्रै हुने बजार बनाउन नहुने बताएका हुन् । 

सुन, चाँदी, तामा वा पेट्रोलियमजस्ता नेपालमा उत्पादन नहुने वस्तुको फ्युचर्स कारोबार मात्रै भयो भने त्यसले नेपालको वास्तविक आर्थिक वृद्धिमा ठूलो योगदान नगर्ने उनको तर्क छ। त्यस्तो बजार जुवाको बजारजस्तो मात्रै देखिन सक्ने उनले बताए । त्यसैले नेपालमा बन्ने वस्तुमा आधारित ‘नेपाली प्रडक्ट बेस्ड कमोडिटी मार्केट’ विकास गर्नुपर्ने उनको जोड छ। उनका अनुसार गहुँ, धान, अदुवा, अलैँची, चिया, कफीलगायत नेपाली उत्पादनलाई कमोडिटी एक्सचेन्जमा कारोबार गर्न सकिने गरी बजार विकास गर्नुपर्छ ।

नेपाली निर्यातयोग्य वस्तु कमोडिटी एक्सचेन्जमा कारोबार हुने गरी मानकीकरण गर्न सकिए त्यसले नेपालको कृषि र निर्यात दुवै क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्ने भट्टको भनाइ छ। उनका अनुसार कमोडिटी एक्सचेन्जमा कारोबार हुन थालेपछि वस्तुको मानकीकरण हुन्छ। त्यसपछि त्यस्ता वस्तु राख्नका लागि व्यवस्थित वेयरहाउस विकास हुन्छ । नेपालमा खाद्यान्न भण्डारण र खाद्य सुरक्षाको समस्या रहेको अवस्थामा व्यवस्थित गोदाम विकास भए बाढी, पहिरो, भूकम्पलगायतका विपत्तिको समयमा पनि खाद्यान्न व्यवस्थापन गर्न सहज हुने उनले बताए । त्यसैगरी कमोडिटी बजारले वस्तुको वास्तविक मूल्य पत्ता लगाउन अर्थात् प्राइस डिस्कभरी गर्न सहयोग गर्छ  ।

गोदाम तथा भण्डारण प्रणाली विकास भएपछि बैंक तथा वित्तीय संस्थाबाट त्यस क्षेत्रमा कर्जा प्रवाह बढ्न सक्छ। त्यसबाट रोजगारी सिर्जना हुन्छ, कर बढ्छ र नयाँ आर्थिक गतिविधि विकास हुने उनको भनाइ छ । भट्टका अनुसार कमोडिटी बजारको सबैभन्दा ठुलो लाभ नेपालको कृषि उद्योगले लिन सक्छ । अहिले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ठुलो स्तरमा वित्तीय लगानी गर्न हिचकिचाउने अवस्था रहेको भन्दै उनले कमोडिटी बजारको विकासले ठुलो स्तरको व्यावसायिक कृषि उत्पादनतर्फ जाने बाटो खोल्न सक्ने बताए । मानकीकृत उत्पादन बजारमा आएपछि उपभोक्ताले पनि गुणस्तरीय वस्तु पाउने उनको भनाइ छ ।

छिमेकी भारतको उदाहरण दिँदै उनले त्यहाँ कमोडिटी फ्युचर्स बजारको विकाससँगै किसान र कृषि क्षेत्रको विस्तारमा सहयोग पुगेको बताए । नेपालमा कमोडिटी एक्सचेन्ज स्थापना गर्न चाहने कुनै संस्था आएमा आफूले पहिलो प्रश्न नै नेपाली वस्तुको विकासका लागि उसको योजना के छ ? भनेर सोध्ने भट्टले बताए।

उनका अनुसार कमोडिटी एक्सचेन्ज खोल्नु मात्रै पर्याप्त हुँदैन। त्यसमा नेपाली उत्पादनलाई कसरी जोड्ने, उत्पादनलाई कसरी मानकीकरण गर्ने, बजार कसरी विकास गर्ने र निर्यातसँग कसरी जोड्ने भन्ने स्पष्ट तयारी हुनुपर्छ । उनले अन्य देशका उदाहरणमा निर्यातयोग्य वस्तु कमोडिटी एक्सचेन्जमा कारोबार भएको र मानकीकरण भएको अवस्थामा मात्रै निर्यात गर्न पाउने खालका व्यवस्था देखिएको बताए। नेपालमा पनि त्यस्तो प्रणाली विकास गर्न सकिए कृषि उत्पादन र निर्यात दुवै बढाउन सकिने उनको धारणा छ ।

नेपालमा कमोडिटी फ्युचर्स बजार विकास गर्दा एउटा महत्त्वपूर्ण समस्या भनेको स्पट मार्केटको विश्वसनीय मूल्य निर्धारण गर्नु रहेको भट्टले बताए। फ्युचर्स बजारमा मूल्य र नाफा घाटा निर्धारण गर्न आधारभूत वस्तुको तत्कालीन बजार मूल्य आवश्यक हुन्छ। तर, नेपालमा कुन बजारको मूल्यलाई आधिकारिक स्पट मूल्य मान्ने भन्ने स्पष्ट संयन्त्र छैन।

अमेरिका र भारतमा ‘मन्डी’जस्ता व्यवस्थित बजारबाट मूल्य लिन सकिने भए पनि नेपालमा त्यस्तो व्यवस्था पर्याप्त विकसित नभएको उनको भनाइ छ। उदाहरणका रूपमा उनले तरकारीको मूल्यका लागि कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यलाई लिन सकिने भए पनि त्यसलाई नै फ्युचर्स बजारका लागि सान्दर्भिक र आधिकारिक स्पट मूल्य मान्ने कि नमान्ने भन्ने प्रश्न रहेको बताए ।

यसको समाधानका लागि स्पट मार्केटको विकास र प्राइस डिस्कभरी मेकानिजम तयार गर्नुपर्ने उनको भनाइ छ । भट्टले नेपालमा कमोडिटी एक्सचेन्ज विकास गर्दा पहिलो प्राथमिकता नेपाली उत्पादनलाई दिनुपर्ने बताए। स्पट बजार व्यवस्थित हुने, मूल्य निर्धारणको विश्वसनीय संयन्त्र बन्ने र नेपाली उत्पादन कमोडिटी बजारमा समावेश हुने आधार तयार भएपछि मात्रै यसलाई विस्तार गर्नुपर्ने उनको धारणा छ । त्यसैले अहिलेको नीतिमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको र भविष्यमा बजार परिपक्व हुँदै गएपछि अन्तर्राष्ट्रिय कमोडिटी पनि थप्दै जाने योजना रहेको उनले बताए ।

नेपालको पुँजी बजारलाई आईपीओ र शेयरको दैनिक कारोबारमा मात्रै सीमित राख्ने बुझाइ बदल्नुपर्ने बताएका छन् । उनका अनुसार पुँजी बजार भनेको कम्पनीले शेयर जारी गर्ने र नेप्सेमा सूचकांक बढ्ने घट्ने विषय मात्रै होइन, स्टार्टअप फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, साना तथा मझौला उद्यम (एसएमई) का लागि छुट्टै प्लेटफर्म, बन्ड, डेरिभेटिभ्सलगायतका धेरैखाले वित्तीय उपकरण समेटिएको ठुलो बजार हो । उनका अनुसार शेयर बजार आफैमा पनि समग्र पुँजी बजारको एउटा अंश मात्रै हो ।

‘सेबोन भनेको आईपीओ स्वीकृति दिने निकाय मात्रै हो भन्ने बुझाइ छ। तर, पुँजी बजारको फैलावट स्टार्टअप फाइनान्सिङदेखि भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, एसएमई प्लेटफर्म, बन्ड र डेरिभेटिभ्ससम्म हुन्छ,’ उनले भने । भट्टकाअनुसार नेपालमा अहिले पनि सेबोनको नियामकीय दायरामा पर्ने संस्था ७ सयभन्दा बढी छन् । यसले सेबोनको कार्यक्षेत्र कति ठुलो छ भन्ने देखाउने उनको भनाइ छ। अन्तर्राष्ट्रिय अभ्यासमा पनि पुँजी बजार नियामकलाई निकै शक्तिशाली संस्थाका रूपमा लिइने उदाहरण दिँदै उनले भारतमा सेबीको भूमिका र प्रभावलाई उल्लेख गरे ।

भट्टले सेबोनको मुख्य काम आफैं कारोबार गर्ने नभई बजारका लागि नियम, पूर्वाधार र कारोबारका विभिन्न उपकरण सञ्चालन गर्ने संयन्त्र तयार पार्नु भएको बताए । उनका अनुसार सेबोनले नीति तथा नियम बनाउने, बजारका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्ने, नयाँ–नयाँ वित्तीय उपकरण सञ्चालनको मेकानिजम तयार गर्ने र बजारमा समान अवसरको वातावरण बनाउने काम गर्छ । बजारका वास्तविक खेलाडी भने ब्रोकर, लगानीकर्ता, कम्पनी, संस्थागत लगानीकर्ता तथा अन्य सहभागी हुने उनको भनाइ छ। उनले भने, ‘सेबोनले मैदानका लागि नियम र रेफ्री दिने हो, लेभल प्लेइङ ग्राउन्ड दिने हो। कारोबार गर्ने र खेल्ने काम बजारका खेलाडीले गर्ने हो ।’ यस्तो बजार विस्तार हुँदा कारोबारबाट व्यवसाय, रोजगारी, कर र वित्तीय क्षेत्रको विशेषज्ञता विकास हुने उनको भनाइ छ। त्यसैले सेबोनको काम बजारलाई नियन्त्रण गरेर आफैं खेल्ने नभई बजार चल्ने आधार तयार गर्नु भएको उनले स्पष्ट पारे।

सेबोनले नेपालको पुँजी बजारका लागि २०३५ सम्मको भिजन अघि सारेको भट्टले बताए । उक्त दस्तावेजमा नेपालको अहिलेको अवस्था, बजारको आवश्यकता, कहाँ पुग्नुपर्ने हो र अहिले रहेको ग्याप कसरी पूरा गर्ने भन्ने विषय समेटिएको उनको भनाइ छ । उनका अनुसार पुँजी बजार विकासका लागि अर्को महत्त्वपूर्ण दस्तावेजका रूपमा क्यापिटल मार्केट पोलिसी पनि अघि सारिएको छ। भट्टले यो नीति मौद्रिक नीतिभन्दा पनि धेरै विषय समेटिएको व्यापक नीति भएको दाबी गरे ।

उनले आर्थिक वर्ष सकिनुअघि नै उक्त नीति ल्याउने आफ्नो लक्ष्य रहेको बताए । त्यसकै आधारमा चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमसँग पनि जोडेर काम गर्नुपर्ने उनको भनाइ छ । नीति सार्वजनिक गर्ने समय आन्दोलनसमेत भइरहेको प्रसङ्ग उल्लेख गर्दै उनले आन्दोलनका कारण आफूलाई धेरै कुरा बोलिरहनुभन्दा दस्तावेज नै सार्वजनिक गरेर त्यसले जवाफ दिने वातावरण बनेको बताए। आन्दोलनकारीप्रति आफू आभारी रहेको उनको भनाइ थियो ।

भट्टले नीति सार्वजनिक गरेपछि ‘नेपालमा नीति त धेरै बन्छन्, कार्यान्वयन हुँदैनन्’ भन्ने धारणा बन्न सक्ने भन्दै यसपटक भने त्यस्तो नहुने दाबी गरे । उनका अनुसार क्यापिटल मार्केट पोलिसीसँगै एक्सन प्लान पनि बनाइएको छ। सेबोनभित्र कुन काम कहिलेसम्म गर्ने भन्ने टाइम-बाउन्ड एक्सन प्लान नै तयार गरिएको छ । तर आफूले तोकिएको समयभन्दा पनि अगाडि काम सक्ने लक्ष्य राखेको उनले बताए। “कुनै पनि दिन खेर फाल्नु हुँदैन” भन्ने आफ्नो कार्यशैली रहेको उनको भनाइ छ । यसको उदाहरणका रूपमा उनले इन्ट्राडे र सर्ट सेलिङको तयारीलाई प्रस्तुत गरे ।

बजेटमा इन्ट्राडे कारोबार सुरु गर्ने घोषणा भएपछि सेबोनले त्यसका लागि आवश्यक काम तीव्र रूपमा अघि बढाएको भट्टले बताए । सेबोनको आन्तरिक योजनामा तीन महिनाभित्र आवश्यक पूर्वाधार तयार गर्ने लक्ष्य राखिएको भए पनि त्यसअघि नै आवश्यक कागजात तथा नियम तयार पारिसकेको उनको भनाइ छ । उनका अनुसार साउन १ देखि ८ गतेसम्मको छोटो अवधिमै इन्ट्राडे कारोबारका लागि आवश्यक ‘फुल फ्लेज्ड’ दस्तावेज तयार भइसकेको छ । नियम तथा नियमनसम्बन्धी कागजात पनि तयार भएर टेबलमा आइसकेको उनले बताए । त्यसैगरी सर्ट सेलिङ, मार्जिन, कभर्ड सेलिङ तथा सेक्युरिटी लेन्डिङ एन्ड बोरोइङका लागि आवश्यक कन्सेप्ट पेपर तथा नियमनसम्बन्धी दस्तावेज पनि तयार भइसकेको उनले जानकारी दिए । तर, कागजात तयार हुँदैमा मात्रै कारोबार सुरु गर्न नमिल्ने उनको भनाइ छ। यसका लागि सेबोनभित्रका कर्मचारीदेखि बजारका संस्थाहरूको तयारी पनि आवश्यक हुन्छ ।

अहिले नेपालमा सामान्यतया लगानीकर्ताले शेयर किन्छ, टीएमएसमा कारोबार गर्छ र पछि बेच्ने गर्छ। इन्ट्राडे कारोबारमा भने एउटै दिनभित्रै शेयर किनबेच गरेर आफ्नो कारोबारको पोजिसन बन्द गर्नुपर्छ । भट्टका अनुसार लगानीकर्ताले बिहान सेयर किनेको भए सोही दिन बेचेर कारोबार टुंग्याउनुपर्छ। त्यस्तै, निश्चित प्रक्रियाअनुसार पहिले बिक्री गरेर पछि खरिद गरी पनि सोही दिन हिसाब मिलाउन सकिन्छ । उनले भने, ‘इन्ट्राडेको मुख्य विशेषता भनेको कारोबार अर्को दिनसम्म बोकेर जान नपाइने हो । दिनभरमा लगानीकर्ताले पटक पटक खरिदबिक्री गर्न सक्छ । तर, बजार बन्द हुँदासम्म उसले लिएको पोजिसनको उल्टो कारोबार गरेर त्यसलाई ‘स्क्वायर अफ’ गर्नुपर्छ। यसमा शेयर यताबाट उता र उताबाट यता हस्तान्तरण गरिरहनुपर्नेभन्दा अन्तिममा हिसाब मिलाउने व्यवस्था हुन्छ । किनेको हो भने बेचेर र बेचेको हो भने किनेर पोजिसन बन्द गर्नुपर्छ ।’

यसबाट लगानीकर्ताले नाफा पनि कमाउन सक्छ र घाटा पनि व्यहोर्न सक्छ। जोखिम हुने भएकाले यो कारोबार बुझेर र आफ्नो जोखिम वहन क्षमताअनुसार गर्नुपर्ने हुन्छ। तर अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा रहेको यस्तो प्रणालीले बजारमा तरलता बढाउने र थप लगानीकर्ता आकर्षित गर्ने भट्टको भनाइ छ । सेबोनले सबै कम्पनीको शेयरमा इन्ट्राडे कारोबार खुला नगर्ने भएको छ। निश्चित रूपमा बढी कारोबार हुने र तरलता भएका लिक्विड सेक्युरिटिजमा मात्रै यस्तो व्यवस्था लागू गर्ने तयारी छ । यसका लागि मार्जिनको आवश्यकता, प्रविधि र कारोबार प्रणाली तयार हुनुपर्नेछ। सीडीएससी, ब्रोकर कम्पनी र नेप्सेमा पनि आवश्यक पूर्वाधार तयार हुनुपर्नेछ । कुन संस्थामा कस्तो पूर्वाधार चाहिन्छ र बजार सहभागीले कुन–कुन मापदण्ड पूरा गर्नुपर्ने हो भन्ने विषय नियममै स्पष्ट गरिने भट्टले बताए ।

भट्टका अनुसार दोस्रो बजारमा नयाँ उपकरणहरू एकै पटक सबै लागू गरिने छैन, चरणबद्ध रूपमा अघि बढाइनेछ। पहिलो चरणमा लगानीकर्ताले इन्ट्राडे कारोबार बुझ्ने र त्यसको अभ्यास गर्नेछन्। त्यसपछि सेक्युरिटी लेन्डिङ एन्ड बोरोइङलगायतका थप उपकरणमा जाने योजना छ । सुरुवातमै ‘पहिले बेच्ने, पछि किन्ने’ अर्थात् रिभर्स अर्डरको अभ्यास गराउनुभन्दा पहिले सेयर किनेर त्यही दिन बेच्ने अभ्यासबाट लगानीकर्तालाई अभ्यस्त बनाउने योजना रहेको भट्टले बताए । उनका अनुसार लगानीकर्ताले नयाँ प्रणाली बुझ्दै गएपछि मात्रै थप जटिल कारोबारतर्फ लैजानुपर्छ ।

सेक्युरिटी लेन्डिङ एन्ड बोरोइङ पनि तत्कालै सबै लगानीकर्ताका लागि खुला नगर्ने सेबोनको तयारी छ । सुरुवातमा संस्थागत लगानीकर्ताबाट यस्तो कारोबार सुरु गर्ने भट्टले बताए। खुद्रा लगानीकर्तालाई तत्कालै प्रवेश गराउँदा जोखिम व्यवस्थापन कठिन हुन सक्ने भएकाले क्षमता विकाससँगै विस्तार गर्ने योजना छ । लगानीकर्ताको जोखिम वहन क्षमता मूल्यांकन गर्नुपर्ने, आवश्यक फाराम भराउनुपर्ने, हस्ताक्षर तथा रेकर्ड राख्नुपर्ने र त्यसपछि मात्रै कारोबार गर्न दिने व्यवस्था गरिने उनले बताए । ‘मेरो लागि शेयर बेचिदिनुस् वा किनिदिनुस्’ भनेर मात्रै यस्तो सुविधा नदिइने उनको भनाइ छ । पर्याप्त रकम नभएका लगानीकर्ताले मार्जिन राख्नुपर्नेछ । बजारमा ठूलो उतारचढाव आयो र दायित्व पूरा गर्न नसक्ने अवस्था आयो भने थप मार्जिन माग्ने व्यवस्था पनि हुनेछ । यसरी जोखिम व्यवस्थापन गरेर मात्रै स्मार्ट र योग्य लगानीकर्तालाई यस्ता उपकरणमा प्रवेश गराउने योजना रहेको उनले बताए।

भट्टले पुँजी बजारमा सबै लगानीकर्ताको एउटै उद्देश्य नहुने बताए । कसैले आज शेयर किनेर पाँच वर्षपछि बेच्न चाहन्छ भने उसलाई त्यहीअनुसारको बजार चाहिन्छ। अर्कोतर्फ दिनभर बजार हेरेर कारोबारको पोजिसन परिवर्तन गर्न चाहने ट्रेडरका लागि पनि अवसर हुनुपर्ने उनको भनाइ छ । ‘आफ्नो जोखिम आफैं लिएर लगानी गर, कमाऊ र कर तिर’ भन्ने शैलीको बजार विकास गर्नुपर्ने उनले बताए । तर यस्तो कारोबारमा लगानीकर्ताले विवेकशील व्यवहार गर्नुपर्ने भएकाले त्यसका लागि सेबोनले आवश्यक मार्गदर्शन तथा निर्देशिका बनाउने उनले जानकारी दिए ।

सेबोन अध्यक्ष भट्टले नेपालको कमोडिटी बजारबारे पनि आफ्नो स्पष्ट धारणा अघि सारेका छन् । उनका अनुसार कमोडिटी मार्केट मूलतः फ्युचर्स मार्केट हो । फ्युचर्स कारोबारमा आजै भविष्यमा हुने खरिदबिक्रीको सम्झौता गरिन्छ। मूल्य, परिमाण, गुणस्तर तथा अन्य मापदण्ड आजै तय हुन्छन्, तर वास्तविक कारोबार भविष्यको निश्चित समयमा हुन्छ ।

यसको विपरीत स्पट मार्केटमा तत्कालै वस्तु खरिदबिक्री हुन्छ । उदाहरणका रूपमा उनले सुनलाई लिए । उनले भने, ‘आज कसैले सात महिनापछि निश्चित मूल्यमा सुन किन्ने सम्झौता गर्‍यो भने त्यो फ्युचर्स कारोबार हुन्छ। तर त्यसबिच बजार मूल्य परिवर्तन भइरहन्छ । त्यसैले फ्युचर्स बजारमा मार्जिनमार्फत दैनिक नाफाघाटा समायोजन हुँदै जान्छ ।’ स्पट र फ्युचर्स बजार समानान्तर रूपमा चल्ने र फ्युचर्सको मूल्य निर्धारणमा स्पट बजारको मूल्यले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

भट्टका भनाइमा नेपालको पुँजी बजार अब आईपीओ र नेप्सेको सूचकांकमा मात्रै सीमित रहने अवस्था छैन। सेबोनले २०३५ सम्मको भिजन, क्यापिटल मार्केट पोलिसी र टाइम-बाउन्ड एक्सन प्लानमार्फत बजारलाई क्रमशः नयाँ चरणमा लैजाने तयारी गरेको छ । इन्ट्राडे, सर्ट सेलिङ, मार्जिन, कभर्ड सेलिङ, सेक्युरिटी लेन्डिङ एन्ड बोरोइङजस्ता उपकरण दोस्रो बजारमा ल्याउने तयारी भइरहेको छ। त्यसपछि कमोडिटी फ्युचर्सजस्ता थप जटिल बजारतर्फ जाने योजना छ। तर, भट्टले नयाँ उपकरण ल्याउँदा जोखिमलाई बेवास्ता नगर्ने स्पष्ट संकेत दिएका छन्। लगानीकर्ताको क्षमता, जोखिम वहन गर्ने क्षमता, आवश्यक मार्जिन, पूर्वाधार, प्रविधि र नियमनलाई सँगसँगै विकास गरेर मात्रै बजार विस्तार गर्ने उनको जोड छ ।

उनका अनुसार दीर्घकालीन लगानीकर्ता होस् वा दिनभर कारोबार गर्ने ट्रेडर, दुवैलाई आफ्नो आवश्यकता र जोखिमअनुसारको बजार उपलब्ध गराउनु नै विकसित पुँजी बजारको आधार हो । यसका लागि सेबोनको भूमिका आफैं कारोबार गर्ने होइन, नियम बनाउने, पूर्वाधारको आवश्यकता पहिचान गर्ने, नयाँ वित्तीय उपकरणका लागि संयन्त्र तयार गर्ने र सबै सहभागीका लागि समान अवसरको मैदान बनाउने हो । बजारका खेलाडीले त्यही मैदानमा कारोबार गर्ने र त्यसबाट व्यवसाय, रोजगारी, कर तथा वित्तीय क्षेत्रको विशेषज्ञता विकास गर्ने उनको परिकल्पना छ ।