काठमाडौं–नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक नेपाल’ अवार्ड प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्सले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ्ग कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।
बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड प्राप्त भएको जनाएको छ। यसले बैंकिङ्ग सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा दिने बैंकको भनाइ छ।
बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले उक्त अवार्ड पाउँदा निकै खुसी लागेको बताए। ‘बैंक फेरि एकपटक प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ, हामीलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उनले भने।
यस अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी थिए। आईसीसी भारतको उद्योग र वाणिज्य क्षेत्रको अग्रणी संस्था हो। भारतका प्रमुख व्यावसायिक समूहहरू आबद्ध रहेको यस संस्थाले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक गतिविधि विस्तार गर्ने उद्योग तथा व्यवसायको प्रतिनिधित्व गर्दै आएको छ।
नबिल बैंकले हालसालै तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गरेको थियो। बैंकले युरोमनी अवाड्र्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि प्राप्त गरेको थियो। बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका लागि उक्त अवार्डबाट सम्मानित गरिएको थियो।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो। यस बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६४ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले हालसालै ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ्ग एण्ड बियोन्ड’ अवधारणालाई अझ सशक्त रूपमा अगाडि बढाएको छ।







About Us
प्रतिक्रिया