बाल संरक्षण अनुदानको भत्ता हिनामिना गरेको आरोपमा ३ जनामाथि भ्रष्टाचार मुद्दा दायरा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिको बाल संरक्षण अनुदान भत्ता रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ। अख्तियारले  साविक भरतपुर गाउँ विकास समितिको कार्यालय, महोत्तरीका तत्कालीन सचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक उमाकान्त महतो र जिल्ला विकास समिति, जलेश्वर महोत्तरीको आन्तरिक लेखापरीक्षण शाखामा कार्यरत सुरुज साहमाथि आरोप पत्र दायर गरेको हो। 

आर्थिक वर्ष २०६८/६९ मा जिल्ला विकास समिति, महोत्तरीबाट भरतपुर गाउँ विकास समितिका लागि बाल संरक्षण भत्ताबापत ३ लाख ७ हजार २ सय रुपैयाँ निकासा भएको पाइएको आयोगले जनाएको छ। आयोगका अनुसार उक्त रकम वास्तविक लाभग्राही बालबालिकालाई वितरण नगरी नक्कली भरपाई तयार पारिएको थियो। भुक्तानी बुझेको देखाउन प्रतिवादीहरूले आफैँ तथा अन्य व्यक्तिलाई औँठाछाप गर्न लगाई गलत कागजात तयार गरेको प्रयोगशाला परीक्षणबाट समेत पुष्टि भएको अख्तियारले जनाएको छ । 

लाभग्राहीलाई वितरण गर्नुपर्ने बाल संरक्षण भत्ता नदिई नक्कली भरपाईका आधारमा पेश्की फर्छ्यौट गरी नेपाल सरकार तथा सरकारी निकायलाई ३ लाख ७ हजार २ सय रुपैयाँ हानिनोक्सानी पुर्‍याएको आयोगले जनाएको छ । आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ बमोजिमको कसुरमा सजाय माग गरी विशेष अदालतमा आरोप पत्र दायर गरेको  छ।