मेट्रो ट्राफिक एफएम को १४ औँ वार्षिकोत्सव सम्पन्न


काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सहयोगी संस्था, विज्ञापनदाता र उत्कृष्ट सवारी चालकलाई कदरपत्र प्रदान गरे । साथै उनले ट्राफिक जनचेतनामूलक गीतको विमोचन समेत गरे ।  

कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले ट्राफिक एफएमले स्थापनाकाल देखिनै ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउँदै ट्राफिक सचेतना अभिवृद्धि गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, अपराधविरुद्ध जनचेतना फैलाउन तथा सुरक्षा सम्बन्धी सही र विश्वसनीय सूचना समयमै प्रवाह गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए। ट्राफिक एफएमको सफल सञ्चालनमा निरन्तर साथ, सहयोग र सहकार्य गर्ने विभिन्न निकाय, स्थानीय तह, सञ्चारकर्मी एवम् प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने महानुभावहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा एफएमको संस्थागत सम्वृद्धिको शुभकामना समेत उनले व्यक्त गरे । 

कार्कीले नेपाल प्रहरीले प्रविधिमैत्री सेवा प्रवाहलाई विशेष प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको चर्चा गर्दै ट्राफिक एफएमले पनि आगामी दिनमा सामाजिक सञ्जालको प्रयोग मार्फत नागरिक समक्ष अझ छिटो, छरितो एवम् भरपर्दो सूचना प्रवाह गर्न थप क्रियाशील हुनुपर्ने बताए । 

एफएमले आगामी दिनमा आफ्नो क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवर्तनात्मक, गुणस्तरीय एवम् विश्वसनीय नागरिक केन्द्रित कार्यक्रमहरू ल्याई अझ सशक्त एवम् प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै ट्राफिक सचेतनामूलक सामग्रीहरूको प्रभावकारिता अभिवृद्धि एवम् एफएमसँग आधुनिक स्रोतहरूलाई समेट्नको लागि समयानुकूल सामग्री तथा विधिलाई आफ्नो कार्यक्रममा समावेश गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।