‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक छ : महालेखापरीक्षक राया


काठमाडौं – महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायले समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दशौँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथग्रहण कार्यक्रममा उनले सम्पत्ति शुद्धीकरण निवारणका लागि वित्तीय कारबाही कार्यदलले नेपाललाई ग्रे लिस्टमा राखेकाले संयुक्त प्रयासबाट मात्रै यसबाट बाहिरिन सकिने बताए ।

उनले भने, ‘चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले पनि इमान्दारीपूर्वक लेखापरीक्षणलगायत काम गरेर नेपाललाई ग्रे लिस्टबाट हटाउन महत्वपूर्ण सहयोग गर्न सक्छ । यसमा संस्थाले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेको छु ।’ महालेखापरीक्षक रायाले लेखापरीक्षणलगायत गतिविधिमा हुन सक्ने विकृति र विसङ्गतिलाई इमान्दारीपूर्वक उजागर गर्न पनि आग्रह गरे। उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको ऐन समयअनुकूल नभएकाले आवश्यक संशोधन प्रक्रिया अघि बढाइने जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा‍‍. गोपाल प्रसाद भट्टले बैंक तथा वित्तीय संस्था, निजी र सार्वजनिक कम्पनीको लेखापरीक्षण निष्पक्ष र इमान्दारीपूर्वक गर्न संस्थालाई आग्रह गरे । निवर्तमान अध्यक्ष सिए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालमा संस्थाको गरिमा बढाउने प्रयास गरेको बताए । उनले नवनिर्वाचित अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेलाई ‘प्रेसिडेन्ट मेडल’ हस्तान्तरण गर्दै पदभार ग्रहण गराए ।

नवनिर्वाचित अध्यक्ष वाग्लेले संस्थाको स्थापनाकालदेखि कायम व्यावसायिकतालाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले नवनिर्वाचित उपाध्यक्ष सिए हेमकुमार काफ्लेलाई पनि शपथ गराए । उपाध्यक्ष काफ्लेले लेखापरीक्षणलगायतका गतिविधिलाई अझ विश्वासिलो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।