काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाको सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुङ्गा–लेखनवाडा वडा कार्यालय–दुर्सी फागोटी सडक निर्माणका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही रकममा सडक निर्माण उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई योजना कार्यान्वयन गरिएको थियो।
अनुसन्धानका क्रममा नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा ग्याबिन जालीसहित १,२०० घनमिटर ढुंगा भरिएको उल्लेख गरी उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको देखिएको आयोगले जनाएको छ। तर आयोगको प्राविधिक टोलीले स्थलगत नापजाँच गर्दा ९३९.५० घनमिटर मात्रै काम भएको पुष्टि भएको थियो।
यसरी प्रतिवेदनमा उल्लेख गरिएकोभन्दा २६०.५० घनमिटर कम काम भएको देखिएपछि झुट्टा बिल तथा भरपाई तयार गरी ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बराबरको सरकारी रकम गैरकानुनी रूपमा भुक्तानी लिएको तथा दिएको आयोगको आरोप छ।
आयोगका अनुसार राष्ट्रसेवक कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीबीच मिलेमतो गरी वास्तविकभन्दा बढी काम भएको देखाएर सरकारी रकम दुरुपयोग गरिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो।






About Us
प्रतिक्रिया