काठमाडौं- लक्ष्मी सनराइज बैंकले विश्वकप फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै सञ्चालन गरेको ‘द गोल इज ग्रीन’ अभियानलाई प्रभावकारी बनाउन डब्लूडब्लूएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी) सँग सहकार्य गरेको छ। बैंकले फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलमा भएको प्रत्येक गोल बराबर एउटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता अनुसार अभियान अघि बढाएको जनाएको छ। विश्वकपभर ३३३ गोल भएपछि बैंकले ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता पूरा गर्ने भएको छ।
यस सहकार्यअन्तर्गत डब्लूडब्लूएफ नेपालले प्रजाति छनोट, उपयुक्त रोपाइँ क्षेत्रको पहिचान तथा पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउनेछ। काम्दी सामुदायिक वन समन्वय समितिले स्थानीय जैविक विविधताअनुकूल रैथाने बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ। लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकता भएको उल्लेख गर्दै ‘द गोल इज ग्रीन’ अभियानले खेलप्रतिको उत्साहलाई जलवायु संरक्षणसँग जोडेको बताए।
डब्लूडब्लूएफ नेपालको संरक्षणसम्बन्धी विशेषज्ञताले अभियानलाई अझ प्रभावकारी र दिगो बनाउने विश्वास उनले व्यक्त गरे। डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल रूख रोप्ने कार्य नभई उपयुक्त स्थानमा रैथाने प्रजातिको रोपाइँ र स्थानीय समुदायको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए।
काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनःस्थापनाको प्रयासलाई थप सुदृढ बनाउने र स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरे। बैंकका अनुसार ‘द गोल इज ग्रीन’ अभियानले दिगोपनलाई वित्तीय सेवामा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्दै ग्राहक, व्यवसाय र समुदायलाई सामूहिक जलवायु अभियानमा सहभागी गराउने तथा नेपालको हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।






About Us
प्रतिक्रिया