प्रहरी महानिरीक्षक दान बहादुर कार्की संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान


काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्की फेडरल ब्युरो अफ इनभिटेसन (एफबीआई)र रोयल थाइ पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ देखि ५ गतेसम्म सञ्चालन हुने ‘ ठगी केन्द्रका परिसरहरू र अन्तर्देशीय सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलन’ सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्। 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत त्यसतर्फ प्रस्थान गरेका छन्। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरे।

उक्त सम्मेलनमा सङ्गठित अपराध सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति, संयुक्त कार्य एवम् समन्वय लगायतका एजेण्डामा वृहत् छलफल हुने कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।