काठमाडौं – विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको विद्युतीय पूर्वाधारमा चुनौती विषयक कार्यक्रममा श्रेष्ठले विद्युत् प्रसारण लाइन निर्माणका लागि आगामी पाँच वर्षमा ४१ अर्ब लगानी आवश्यक रहेको बताएका हुन्।
९८ प्रतिशत घर धुरीमा विद्युत् वितरण पुगेको बताउँदै उनले हाल ५९ लाख १६ हजारभन्दा बढी ग्राहक रहेको बताए। हाल मुआब्जा वितरण, जग्गा प्राप्ति लगायतका विषयमा समस्या रहेको उनको भनाइ छ। जलविद्युत उत्पादन मात्र पर्याप्त नभएको बताउँदै सुदृढ, भरपर्दो, र आधुनिक प्रसारण प्रणाली नै नेपालको ऊर्जाको सुरक्षा, आर्थिक रूपान्तरण र समृद्धिको आधार भएको बताए।
हाल ४ हजार १३० मेगावाट विद्युत् उत्पादन भइरहेको उनको भनाइ छ। सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट पुर्याइने लक्ष्य लिइएको छ। ५ वर्षे रणनीति अनुसार अल्पकालीन रणनीतिमा अवरोध हटाउने, मध्यकालीन रणनीतिमा संरचनात्मक सुधार गर्ने र दीर्घकालीन रणनीतिमा ४०० केभी ब्याक बोन र स्मार्ट ग्रिड बनाउने रहेको छ।
नेपालको जलविद्युत क्षमताको वास्तविक आर्थिक प्रतिफल मात्र पर्याप्त नहुने बताउँदै त्यसका लागि ४०० केभी प्रसारण सञ्जाललाई विना कुनै प्राविधिक सम्झौता सञ्चालन गर्न सकिने बताए। आगामी कदमको रूपमा विभिन्न खालका अवरोधहरू हटाउँदै ऐन, मापदण्ड लागू गर्दै, दक्ष संस्थागत प्रणालीको निर्माण गरेर मात्रै ऊर्जाको रक्तसञ्चारलाई निर्बाध प्रवाह गर्न सक्षम हुने उनको भनाइ छ।






About Us
प्रतिक्रिया