काठमाडौं – काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि अर्को चरणको प्रक्रिया अघि बढाउने आदेश दिएको हो।
यसअघि २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राज्यविरुद्धको अपराध तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। अदालतले तीमध्ये २३ जनालाई दोषी ठहर गरेको भने ७ जनालाई सफाइ दिएको छ। सफाइ पाउने प्रतिवादीहरूमा रामशरण केसी, टंककुमार गुरुङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।
अदालतको फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहरिएका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ती कसुरहरूमा मतियारको भूमिकामा दोषी ठहर गरिएको छ। त्यस्तै, पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत कीर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मतियार बनेको अभियोगमा दोषी ठहर गरिएको छ। यसैगरी, प्रकरणका मुख्य योजनाकार मानिएका सानु भण्डारी र केशव दुलाललाई सरकारी लिखत कीर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको अदालतले जनाएको छ।
यो प्रकरण नेपालमा नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाइदिने नाममा सर्वसाधारणबाट करोडौं रुपैयाँ असुलिएको आरोपसँग सम्बन्धित छ। दोषी ठहर भएका खाण, रायमाझी र पाण्डेसहितका प्रतिवादीहरूलाई हुने सजायको मात्रा भने आगामी असार २९ गते निर्धारण गरिने अदालतले जनाएको छ।






About Us
प्रतिक्रिया