काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनले बोर्डको ३३औँ वार्षिकोत्सवको स्थगित भएकाेप्रति आपत्ति जनाएकाे छ। युनियनले विज्ञप्ति जारी गर्दै स्थापनाको ३३ वर्ष पूरा गरी ३४ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना हुने भनिएको वार्षिकोत्सव कार्यक्रम व्यवस्थापन पक्षको उदासीनताका स्थगित भएकाे भन्दै असन्तुष्टि जनाएको हो।
युनियनले प्रत्येक वर्ष विविध कार्यक्रमसहित मनाइँदै आएको वार्षिकोत्सव यस वर्ष व्यवस्थापन पक्षको चरम उदासीनता, अनुत्तरदायी कार्यशैली तथा अस्पष्ट निर्णयका कारण इतिहासमै पहिलो पटक स्थगित भएको आरोप लगाएकाे छ।
वर्तमान उच्च व्यवस्थापकीय नेतृत्वको कमजोर कार्यशैलीका कारण संस्था प्रशासनिक तथा व्यवस्थापकीय रूपमा दिनप्रतिदिन धराशायी बन्दै गएको दाबी पनि विज्ञप्तिमा गरिएको छ। युनियनले बोर्डको नेतृत्वलाई पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्न, संस्थाको हितमा गरिने नीतिगत तथा प्रक्रियागत निर्णयहरू समयमै सार्वजनिक गर्न तथा कर्मचारीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।
त्यस्तै, सेबोनको अध्यक्ष पद लामो समयदेखि रिक्त रहेको उल्लेख गर्दै युनियनले नियुक्ति प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याई संस्थालाई प्रभावकारी नेतृत्व प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ। युनियनका अनुसार अध्यक्ष नियुक्तिमा भइरहेको ढिलाइले संस्थाको कार्यसम्पादन र पुँजीबजार विकासमा नकारात्मक असर परेको छ।









About Us
प्रतिक्रिया