काठमाडौं – पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाउँदैछ। शुक्रबार नयाँ अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तरवार्ता जारी छ।
बोर्ड अध्यक्ष सिफारिस समितिले मंगलबार ४ जनाको नाम सर्टलिस्ट गरेको थियो। सम्भवतः आगामी साताको सोमबारसम्ममा सेबोन अध्यक्ष नियुक्ति प्रक्रियाले अन्तिम रूप पाउने मन्त्रालयका अधिकारीहरू बताउँछन्। गत वैशाख ४ गते पूर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका थिए। त्यसपछि रिक्त बनेको पदपूर्ति गर्न सेबोन अध्यक्ष नियुक्ति प्रक्रियाले गति लिएको हो।
समितिले सेबोनकै कार्यकारी निर्देशक विनयदेव आचार्य र पूर्व कार्यकारी निर्देशक डा.नवराज अधिकारीलाई सूचीमा राखेको छ। त्यस्तै,नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय डा. गोपाल भट्ट तथा मुकुन्द कुमार क्षेत्री सर्टलिस्टमा परेका छन्। सेबोनको अध्यक्ष नियुक्तिका लागि ४७ जनाको आवेदन परेकोमा अब मन्त्रिपरिषद्ले यी चार जनामध्ये एक जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्नेछ।
नयाँ अध्यक्षलाई थिति बसाल्ने चुनौती
वित्तीय क्षेत्रका नियामक निकायहरूमध्ये पुँजी बजारको नियामक निकाय सेबोनमा थिति बसाल्नुपर्ने चुनौती नयाँ नेतृत्वसामू रहेको जानकारहरू बताउँछन्। सेबोन पूर्वअध्यक्षहरू विवादमा परिरहने र संस्थागत सुशासनमाथि नै प्रश्न उठ्ने गरेको छ।

लगानीकर्ताहरू भने पुँजी बजारमा मनोबल बढाउने खालको नेतृत्व आवश्यक रहेको बताउँछन्। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बजारलाई चलायमान बनाउन कर तथा नीतिगत सुधार आवश्यक रहेको बताउँछन्।
पूर्व अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। नयाँ अध्यक्षबाट प्रविधिमैत्री पुँजी बजार निर्माण, ‘इन्साइडर ट्रेडिङ’ नियन्त्रण तथा नियामयकी विश्वास बढाउने वातावरण निर्माण अहिलेको आवश्यकता रहेको बताउँछन्।

शेयर लगानीकर्ता संघका अध्यक्ष घनश्याम पाण्डेले नयाँ अध्यक्षबाट कानुनी दायराभित्र रहेर पुँजी बजारको हक हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्नेछन् भन्ने अपेक्षा गरेको बताए।






About Us
प्रतिक्रिया