वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज


काठमाडौं – सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले कुल जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। इच्छुकले सो आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्तअवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन जेठ ४ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।