गृहमन्त्री गुरुङको स्पष्टीकरण:

‘शेयरमा गरिएको लगानी कर्जाबाट जुटाइएको हो, पैसा कहाँबाट आयो कागज र बैंक रेकर्डले प्रमाणित गर्छ’


काठमाडौं – गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोपका विषयमा अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै शेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन्।

बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ? अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ।

आफूले २५ लाख रुपैयाँ बराबरको शेयर लुकाएको भन्ने चर्चाको खण्डन गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरिएको जिकिर गरेका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणभित्रै समेटिएको बताउँदै उनले यो लुकाउने विषय नभई वर्गीकरणको मात्र सवाल भएको स्पष्ट पारेका छन्।

उनले थपेका छन्,’ मन्त्री हुनुअघि शेयर किनियो’ भनिएको छ। यो देशमा शेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो?’विवादित व्यक्तिसँग साझेदारी’ भनिएको छ। एउटै कम्पनीमा सयौँ–हजारौँ शेयर होल्डर हुन्छन्। शेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?