वैशाख १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै याम्बालिङ्ग हाइड्रोपावर


काठमाडौं – याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसेको छ। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २८ लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्येबाट ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, सामूहिक लगानी कोषहरुका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीहरुका लागि समेत ४२ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतममा २१ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओको निष्काशन बन्द छिटोमा बैशाख २२ गते हुनेछ भने ढिलोमा बैशाख ३० गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर समेत आवेदन दिन सक्नेछन्।