विश्व बैंक र एडिबीको बैठकमा अर्थमन्त्री नजाने, सहसचिवस्तरीय उपस्थिति जनाउँदै नेपाल


काठमाडौं – आगामी आर्थिक वर्षको बजेट तयारीलाई प्राथमिकता दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले अन्तर्राष्ट्रियस्तरका दुई महत्त्वपूर्ण बैठकमा स्वयम् सहभागी नहुने भएका छन्।

एशियाली विकास बैंक (एडीबी) को ५९औँ वार्षिक बैठक मे ३ देखि ६ तारिखसम्म उज्बेकिस्तानमा आयोजना हुँदैछ। यस्तै, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठक अप्रिल १३ मा वासिङ्टन डीसी, अमेरिकामा हुने तय भएको छ।

तर, बजेट लेखन कार्य तीव्र रूपमा अघि बढिरहेको सन्दर्भमा अर्थमन्त्री वाग्लेले यी दुवै बैठकमा सहभागी नहुने निर्णय लिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रालयका अनुसार, राष्ट्रिय प्राथमिकता अनुरूप बजेट निर्माण प्रक्रियामा प्रत्यक्ष संलग्न हुनुपर्ने भएकाले उक्त निर्णय गरिएको हो।

दुवै अन्तर्राष्ट्रिय बैठकमा भने अर्थ मन्त्रालयका सहसचिवस्तरका प्रतिनिधिलाई पठाउने निर्णय गत हप्तामै गरिएको बताइएको छ। मन्त्रालयले यसलाई नियमित कूटनीतिक तथा प्राविधिक सहभागिताको निरन्तरताका रूपमा व्याख्या गरेको छ।

एडिबी, विश्व बैंक र आईएमएफ जस्ता विकास साझेदारहरूसँग नेपालको सहकार्य निरन्तर रहिरहने उल्लेख गर्दै मन्त्रालयले प्रतिनिधिस्तरबाटै आवश्यक समन्वय र सहभागिता सुनिश्चित गरिने जनाएको छ।