काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को १३औँ महाधिवेशनले निकोलस पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पाण्डे ५१४ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रत्याशी आङ दोर्जी लामाले ४१३ मत प्राप्त गरे। लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाए पनि व्यवसायीहरूले पाण्डेको नेतृत्वलाई अनुमोदन गरेका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा पाण्डे समूहकै उम्मेदवार रामजी पन्त ४७४ मत ल्याएर विजयी भएका छन्। उनले लामा समूहका रोशन दाहालसँग प्रतिस्पर्धा गरेका थिए।
त्यसैगरी महासचिव पदमा शिवहरि घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। घिमिरेका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरे। निर्वाचनमा उपाध्यक्षतर्फ एसोसिएटमा नरहरि थपलिया र एनपी शेर्पा, उपमहासचिवमा इन्जिनियर सन्तोष साह, चन्द्रशेखर मल्ल र सुवित श्रेष्ठ तथा कोषाध्यक्षमा बालाजी श्रेष्ठ र उज्ज्वल गौतम चुनावी मैदानमा उत्रिएका थिए।
सह–कोषाध्यक्ष पदका लागि उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंहबीच प्रतिस्पर्धा भएको थियो। नवनिर्वाचित अध्यक्ष पाण्डे राप्रपाका पूर्व सांसद तथा पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन्। कालिका कन्स्ट्रक्सनका निर्देशकसमेत रहेका पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसँग ठोस बहस गर्ने र सार्वजनिक खरिद ऐनका विवादास्पद दफाहरू खारेजका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



About Us
प्रतिक्रिया