धितोपत्र बोर्डको आईपीओ पाइपलाईनमा थपिए ४ सेक्टरका ४ कम्पनी


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेवोन) को आईपीओ पाइपलाइनमा चार वटा कम्पनी थपिएका छन्। सेबोनको पाइपलाइनमा होटेल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट र उत्पादन तथा प्रशोधन गरी ४ समूहमा एक-एक वटा कम्पनी थपिएका हुन्।

होटेल तथा पर्यटन समूहतर्फ बुढानीलकण्ठ हेरिटिज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यका ४९ करोड ५० लाख बराबरको ४९ लाख ५० हजार कित्ता शेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो। यस कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै, हाइड्रोपावर सेक्टरमा सभापोखरी हाइड्रोपावरले १० लाख ७५ हजार कित्ता शेयर निष्कासनको लागि आवेदन दिएको छ। यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

त्यसैगरी, इन्भेष्मेन्ट सेक्टर अन्तर्गत इष्टर्न सहारा कम्पनी लिमिटेडले २७ लाख ५० हजार कित्ता शेयर निष्कासनको लागि आईपीओ पाइपलाइनमा आवेदन दिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन सेक्टर अन्तर्गतको नेसनल बायोटेक लिमिटेडले १० लाख कित्ता साधारण शेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।