बेनी हाइड्रोपावर प्रोजेक्टको आईएपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अर्थात् चैत १५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। त्यसमध्ये प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

सोमध्ये ५ लाख २० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ३ लाख १२ हजार कित्ता सुलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दा र २ लाख ८ हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आज बैकिङ्ग समयभित्र आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि लिमिटेड रहेको छ।