राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए।

यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद् बैठक आह्वान गर्ने तयारी भइरहेको छ।

यसैको तयारीका लागि आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले शपथ लिएका हुन्। उनी ७८ वर्षका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार भोलि बिहीबार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउने छन्। नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नेछन्।