आगामी तीन दिन तीव्र हावाहुरी र वर्षाको सम्भावना, प्राधिकरणले भन्यो, सतर्कता अपनाउनु


काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनका लागि जारी मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना रहेको बताएको हो । 

त्यसैगरी, शुक्रबारदेखि नै लुम्बिनी प्रदेशका तराई क्षेत्र, विशेषगरी दाङ र नेपालगञ्ज आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ। शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा पनि करिब ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

प्रि-मनसुनको समय भएकाले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र घरका छाना उड्ने, विद्युत तथा सञ्चार सेवा अवरुद्ध हुनेजस्ता जोखिम उच्च रहने प्राधिकरणले जनाएको छ। पछिल्ला दिनहरूमा यस्तै घटनाका कारण मानवीय क्षति समेत भएको उल्लेख गरिएको छ।

प्राधिकरणले आवश्यक नभएसम्म यात्रा नगर्न, हावाहुरीका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, आगलागी हुन सक्ने स्रोतहरू नियन्त्रणमा राख्न तथा सवारी साधन चलाइरहेका अवस्थामा सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ। यसका साथै कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न, लत्रिएको तार नछुन र विद्युतीय उपकरण प्रयोग नगर्न पनि सचेत गराइएको छ। भीडभाडमा रहेका नागरिकलाई आत्तिन नहुने र व्यवस्थित रूपमा सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग र आफूबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।