काठमाडौं – ग्लोबल मनी वीक २०२६ को अवसरमा काठमाडौंकाे तीनकुनेस्थित दिव्य कलेजमा विद्यार्थी तथा शिक्षकहरूका लागि वित्तीय साक्षरता सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको उक्त कार्यक्रममा बीमा, बचत र लगानीका विविध पक्षबारे छलफल गरिएको थियो।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक एवं कार्यक्रमका संयोजक राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका प्रिन्सिपल नारायण काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै, सहायक प्रिन्सिपल छत्र न्यौपाने, प्रभु इन्स्योरेन्सका डेपुटी सीईओ समीर तामाङको उपस्थिति रहेको थियो।
कार्यक्रममा कलेजको व्यवस्थापन, कानुन तथा विज्ञान संकायका कक्षा ११ मा अध्ययनरत करिब २०० जना विद्यार्थीहरूको सक्रिय सहभागिता थियो। प्रमुख अतिथि नारायण काफ्लेले सानै उमेरदेखि वित्तीय ज्ञान र बचत गर्ने बानीले विद्यार्थीको भविष्य सुरक्षित बनाउने बताए। यस्तै, सहायक प्रिन्सिपल छत्र न्यौपानेले पनि व्यवहारिक जीवनमा वित्तीय शिक्षाको अपरिहार्यतामा जोड दिए।
कार्यक्रममा प्रभु इन्स्योरेन्सका डेपुटी सीईओ तामाङले जीवन र सम्पत्तिको सुरक्षाका लागि बीमा अनिवार्य रहेको उल्लेख गरे। उनले भविष्यमा आइपर्ने अनपेक्षित जोखिमलाई बीमामार्फत व्यवस्थापन गर्न सकिने स्पष्ट पारे।
यस्तै, कार्यक्रमका अध्यक्ष राजेन्द्र महर्जनले यस वर्षको नारा ‘स्मार्ट मनि टक्स’को अर्थ स्पष्ट पार्दै विद्यार्थीहरूलाई खर्च कटौती गरी लगानीतर्फ आकर्षित हुन प्रेरित गरे। उनले भने, ‘अभिभावकले दिएको खाजा खर्च बचत गरी प्राथमिक शेयर (आईपीओ)मा लगानी गर्ने वा बैंकमा निक्षेप गर्ने बानी आजैदेखि बसाल्नुहोस्।’
महर्जनले अर्थतन्त्रका तीन खम्बाहरु पुँजी बजार, नियमित बचत र बीमाको तालमेलले मात्र सुरक्षित भविष्य निर्माण हुने बताए। साथै, आगलागी, भूकम्प र बाढी जस्ता विपत्तिबाट हुने आर्थिक क्षति कम गर्न सम्पत्ति तथा सवारी साधनको बीमा गर्न समेत उनले आग्रह गरे।



About Us
प्रतिक्रिया