बीमा गर्दा वित्तीय सूचक राम्रो भएको कम्पनी छनोट गर्नुपर्छ: कार्यकारी निर्देशक सुवेदी 


काठमाडौं – नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले जीवन बीमा गर्दा वित्तीय सूचक राम्रो भएको कम्पनी छनोट गर्नुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विकको अवसरमा आयोजना गरेको कार्यक्रमको सत्रगत छलफलमा उनले यस्तो बताएका हुन्। 

बीमा गर्दा कस्तो कम्पनी छनोट गर्ने भन्नेबारे प्रश्नहरू उठिरहेको भन्दै उनले बीमा गर्दा कम्पनी छनोट पनि अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्। उनले बीमा लगानी पनि भएकोले भविष्यमा लगानी फिर्ता गर्न सक्ने किसिमको बीमा कम्पनी छनोट गर्नुपर्ने बताएका हुन्। उनले निर्जीवन बीमा गर्दा भविष्यमा हुने क्षतिको सहजै कभर गर्न सक्ने र जीवन बीमा गर्दा भविष्यमा राम्रो बोनससहित फिर्ता गर्न सक्ने कम्पनी छान्नुपर्ने बताए।‘बीमा गर्दा कम्पनी कस्तो छान्ने भन्ने कुरा पनि आउँछ। त्यसमा हामीले गर्ने बीमा लगानी पनि भएकोले बीमा गर्दा वित्तीय सूचक राम्रो भएको कम्पनी छनोट गर्नुपर्छ’ उनले भने। 

उनले बीमाका फाइदा पैसाको बचत र रिस्क कभर गर्ने भएको भन्दै भविष्यमा आउने हरेक समस्याबाट जोगाउन ठुलो भूमिका खेल्ने बताए। बीमालाई खर्चको रूपमा भन्दा लगानीको रूपमा हेर्नुपर्ने बताए। निर्जीव बीमामा प्रीमियम तिरेपछि क्षति भएपछि मात्रै फिर्ता आएपनि जीवन बीमामा भने भविष्यमा हुनसक्ने क्षतिलाई कम गरेर बुझाइएको प्रिमियममा फिर्ता हुने उनले बताए। ‘पोलिसीको समय सक्किएपछि लगानी फिर्ता हुन्छ’ त्यसैले बीमालाई खर्चको रूपमा भन्दा लगानीको रूपमा हेर्नुपर्छ’ उनले भने। अहिले अधिकाश युवाहरुले बीमालाई खर्चको रूपमा हेर्दै आईरहेका छन्। तर, उनले भविष्यमा हुने क्षतिलाई कम गर्न बीमाले सहज गर्ने बताए।