ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन आयल निगमको आग्रह


काठमाडौं – नेपाल आयल निगम लिमिटेडले आम उपभोक्तालाई ग्यास तथा पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। निगमले प्रेस विज्ञप्ति जारी गर्दै केही ग्यास उद्योगहरूले ग्यास अभाव भएको भन्दै प्रचार गरिरहेको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ। निगमका अनुसार आम उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले आपूर्ति र बिक्री वितरणको व्यवस्था सामान्य अवस्थामै रहेको छ।

मध्यपूर्वमा देखिएको समस्याका कारण केही देशहरूले पेट्रोलियम पदार्थको बिक्री वितरण तथा प्रयोगमा सुरक्षात्मक उपाय अपनाए पनि हालसम्म त्यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरेको निगमले स्पष्ट पारेको छ। नेपाल पूर्ण रूपमा आयातमा निर्भर भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उपभोक्तालाई ग्यास तथा पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न आग्रह गरिएको छ।

निगमले आवश्यक मात्रामा मात्र पेट्रोलियम पदार्थ तथा ग्यास खरिद गर्न, मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अतिरिक्त सिलिन्डर नराख्न, अनावश्यक भण्डारण नगर्न तथा ग्यासको सट्टा विद्युतको प्रयोग बढाउन अनुरोध गरेको छ। त्यस्तै सवारी साधन प्रयोग गर्दा सकेसम्म ‘राइड सेयरिङ’ अपनाउन र विद्युतका लागि जेनेरेटरको प्रयोग नगर्न पनि सुझाव दिएको छ।

यसैगरी, औद्योगिक प्रयोगमा पनि पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्न उद्योगी व्यवसायीलाई निगमले आग्रह गरेको छ। इन्धन तथा एलपी ग्यासको आयात, बिक्री तथा वितरण नियमित रूपमा भइरहेको भए पनि विश्व परिस्थितिका कारण नेपालमा पनि प्रभाव पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मितव्ययी प्रयोग गर्न निगमले अनुरोध गरेको हो। निगमले आफ्ना निर्देशनविपरीत ग्यास सिलिन्डर अनावश्यक रूपमा होल्डिङ गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा नयाँ सिलिन्डरको बजारीकरण गर्ने पाइएमा नेपाल सरकारको कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ।