तेहरान – मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उपायबारे प्रमुख औद्योगिक देशहरूका अर्थमन्त्रीहरूले छलफल गर्ने भएका छन्। फ्रान्स सरकारका एक स्रोतका अनुसार सोमबार हुने बैठकमा तेल बजारलाई स्थिर बनाउन रणनीतिक तेल भण्डार प्रयोग गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गरिनेछ।
फ्रान्सको अर्थ मन्त्रालयले बैठकमा खाडी क्षेत्रको पछिल्लो अवस्थासहित त्यसको विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे समीक्षा गरिने जनाएको छ। पछिल्ला दिनहरूमा अमेरिका–इजरायल र इरानबीचको युद्ध तीव्र हुँदै जाँदा मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने आशङ्का बढेको छ। यही कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ र धेरै देशका शेयर बजारहरूमा पनि अस्थिरता देखिएको छ।
फ्रान्सले हाल प्रमुख औद्योगिक देशहरूको समूहको घुम्ती अध्यक्षता गरिरहेको छ, जसमा क्यानडा, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पनि सदस्य रहेका छन्। ऊर्जा सङ्कटको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती देशहरूले अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्रमार्फत संयुक्त रूपमा रणनीतिक तेल भण्डार बजारमा ल्याउने विषयमा पनि विचार गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल मूल्य बढ्नु इरानको आणविक खतरा हटाउनका लागि तिर्नुपर्ने सानो मूल्य भएको बताएका छन्। सन् १९७३ को तेल सङ्कटपछि ऊर्जा आपूर्ति अवरोधको अवस्थामा सदस्य देशहरूबीच समन्वय गरेर प्रतिक्रिया दिन अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्र स्थापना गरिएको थियो।
ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सदस्य देशहरूले कम्तीमा ९० दिनको आयात बराबरको आपतकालीन तेल भण्डार राख्ने व्यवस्था रहेको छ, जसलाई आवश्यकता परे बजार स्थिर बनाउन प्रयोग गर्न सकिन्छ।



About Us
प्रतिक्रिया