बागलुङ – आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारीका संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्को यात्रा थालेका छन् । हालै रास्वपामा आबद्ध शर्माले पश्चिम बागलुङको क्षेत्र नं २ को निर्वाचन जित्न सफल भएका छन् । ३४ वर्षीय शर्मा सामाजिक अभियान्ता, जेनजी आन्दोलनका अगुवा हुँदै प्रतिनिधिसभा सदस्य हुन सफल भएका छन् ।
शर्माले बागलुङ–२ मा १२ हजार ६४७ मत ल्याएर निर्वाचित भएका छन् । उनले कांग्रेसका टेकराज पौडेललाई ७७९ मतले पछाडि पार्दै निर्वाचन जितेका हुन् । यहाँ खसेको ४७ हजार २०७ मतमा शर्माका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६८ मत प्राप्त गरेका थिए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्दा नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेले सात हजार ८६४ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा ११ उम्मेदवार चुनावी मैदानमा थिए ।
कोरोनापीडितका सहयात्रीदेखि जेन्जी अगुवासम्म
बागलुङ बजारमा इलेक्टोनिक्स पसल सञ्चालन गरेका शर्मा कोरोनाअघि काठमाडौँ पुगेका थिए । जेनजी आन्दोलन र नागरिक खबरदारीको अगुवाका रूपमा चिनाउने शर्मा कोरोनाकालमा सडकमा खाना बाड्दै काठमाडौँमा हिडेका थिए । कोरोना, विपद्, गरिबी तथा समाजका विभिन्न क्षेत्रका सेवाको सारथीका रूपमा चिनिएका उनी राजनीतिमा नयाँ अनुहारका रूपमा संसद् छिरेका छन् । विसं २०४८ पुस २९ मा बागलुङ नगरपालिका–१२ मा शर्मा जन्मिएका हुन् ।
एक प्रतिबद्ध, नैतिक र सुधारमुखी व्यक्तित्व भएका युवा नेताका रूपमा चिनिन थालेका शर्मालाई पहिलोपटक नै जनताले अनुमोदन गरेका छन् । विद्रोही युवाका रूपमा रहुनभएका शर्माले सामाजिक सञ्जालबाट सुशासनको पक्षमा बोल्दै आएका थिए ।
रास्वपाको राजनीति, समाजसेवा र व्यावसायिक नेतृत्वमार्फत आफ्नो क्षेत्र र समुदायको विकासमा योगदान पुर्याउन निर्वाचनमा होमिएका शर्माले बागलुङको पश्चिम क्षेत्र विकट नभएर विकट बनाइएको बताउँछन् । ‘बागलुङको पश्चिम क्षेत्रलाई विकट मानियो, तर विकट बनाइएको हो, अब विकट रहँदैन, पर्यटनमार्फत यहाँको विकास हुन्छ, निर्वाचित सांसद गाउँ नआएको गुनासो अब रहन्न, म नियमित गाउँ र सदनलाई जोड्नेछु ।’
त्रिभुवन विश्वविद्यालय, रत्नराज्य क्याम्पसबाट राजनीतिशास्त्र र आम सञ्चार विषयमा स्नातक तह अध्ययन गर्नुभएका शर्माले कम्प्युटर, नेटवर्किङ र कृषि उद्यमशीलतासम्बन्धी विभिन्न तालिम लिइसकेका छन् । पेसागत जीवनमा उहाँसँग कम्प्युटर शिक्षक, प्राविधिक विशेषज्ञ र व्यवस्थापन निर्देशकका रूपमा कार्य गरेको अनुभव छ । विकासमा पछि परेको बागलुङ पश्चिम क्षेत्रको भूगोललाई राष्ट्रिय रूपमा चिनाउँदै पर्यटकीय क्षेत्रका रूपमा चिनाउने शर्माको अठोट छ ।



About Us
प्रतिक्रिया