वीरगञ्ज – पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन्। निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएका घोषणा गरे।
सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याएका छन्। त्यस्तै, जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत ल्याएका छन्।
यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा थिए। स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना छन्। पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ। सोमध्ये चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ।



About Us
प्रतिक्रिया